माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सातवटा शीर्षकमा समेटिएको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन । उनले बन्द सत्रमा ‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ उल्लेख गरिएको प्रतिवेदन प्रस्तुत गरे । प्रतिवेदनमा वर्तमान परिस्थितिको समीक्षाका साथै अन्तर्राष्ट्रिय परिस्थितिको समीक्षा र राष्ट्रिय राजनीतिक परिस्थितिको समीक्षा गरिएको छ । विज्ञानप्रविधिको विकास र समाजवादको औचित्य उल्लेख गर्दै प्रतिवेदनमा पार्टी इतिहासको संक्षिप्त सिंहावलोकनसमेत गरिएको छ । नेपाली पुँजीवादी क्रान्तिको मौलिकता र समाजवादी क्रान्तिको रणनीतिरकार्यनीतिबारे उल्लेख गर्दै उनले समाजवादको आधार निर्माणसँग सम्बन्धित केही सैद्धान्तिक प्रश्नहरू पनि प्रतिवेदनमा समावेश गर्दै पार्टीको तात्कालिक नीति, योजना र कार्यक्रमको रुपरेखा शीर्षकमा पार्टीले लिनुपर्ने बाटो र कार्यक्रमबारे चर्चा गरे ।
आठौं राष्ट्रिय महाधिवेशनमा पेस गर्न तयार पारेको राजनीतिक दस्तावेज अध्यक्ष प्रचण्डले आइतबार बिहान बसेको पार्टीको केन्द्रीय समिति बैठकमा पेस गरेका थिए । दस्ताबेजमा उनले जनयुद्ध र जनआन्दोलनपछि नेपाली जनताले प्राप्त गरेका उपलब्धिहरू उल्ट्याउन अझै पनि निरंकुश तत्वहरूले टाउको उठाइरहेको निष्कर्ष निकाले । उनले नेपाली पुँजीवादी क्रान्तिको मौलिकता र समाजवादी क्रान्तिको रणनीति कार्यनीतिको पनि चर्चा गर्दै पुँजीवादले गाँजेको नेपाली समाजबाट अघि बढ्दै समाजवादको लक्ष्य पूरा गर्न सकिने उल्लेख गरे ।
उक्त दस्तावेजमा प्रचण्डले शान्ति सम्झौतामा तत्कालीन एमालेका महासचिव माधवकुमार नेपाल र कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै प्रशंसा गरे । राजतन्त्र फाल्ने पृष्ठभूमिका रूपमा तत्कालीन ७ दल र माओवादीबीच ऐतिहासिक १२ बुँदे सम्झौता भएको र त्यसकै बलमा माओवादी शान्तिपूर्ण राजनीतिमा आउँदै अहिलेको अवस्थामा पुगेको उल्लेख गर्दै उनले दोस्रो संविधानसभा निर्वाचनसम्म आइपुग्दा टुटफुटले पार्टीमा क्षति भएको बताए । विस्तारै पार्टीले बलियो एकताको नीति लिएको र त्यसैअनुसार एमालेसँग पार्टी एकता गरेर नेकपा बनाइए पनि त्यो टिक्न नसकेको बताए । आफ्नो प्रतिवेदनमा ओलीको चर्को आलोचना गरेका प्रचण्डले सुशासन र विकासको अपेक्षासहित एकता गरिए पनि ओलीको स्वार्थका कारण एकता टिक्न नसकेको जिकिर गरे ।
उनले राष्ट्रिय राजनीतिदेखि कम्युनिस्ट आन्दोलन र आफ्नो पार्टीमा समेत देखा परेका समस्याहरूको प्रमुख कारण विचारको विकास र स्पष्टताको अभाव नै हो भन्ने तथ्यलाई आत्मसात् गर्नुपर्नेमा जोड दिए ।
प्रतिवेदनमा प्रचण्डले पार्टीलाई उत्पादनसँग जोड्ने प्रस्ताव अगाडि सारेका छन । पार्टीलाई उत्पादनसँग जोड्ने र पार्टीका नेता कार्यकर्ताले वर्षमा कम्तीमा १५ दिन अनिवार्य शारीरिक श्रम गर्नुपर्ने प्रस्ताव गरेका छन । श्रमको रेकर्ड पार्टी समितिले राख्ने र माथिल्लो समितिमा पठाउने प्रस्ताव गर्दै प्रतिवेदनमा माओवादीले नेतृत्व जितेको स्थानीय तहमा ५० युवालाई कृषि काममा लगाउने प्रतिवेदनमा उल्लेख छ । प्रचण्डले माओवादीले नेतृत्व गरेको प्रदेशमा सय जनासम्म युवालाई कृषि, पशुपालन र दुग्ध उत्पादनमा लगाउने प्रस्ताव गर्दै केन्द्रमा पनि कृषि र श्रमसँग जोड्ने गरी कार्यक्रम बनाउन पहल गर्ने उनको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यसै गरी प्रचण्डले प्रतिवेदनमा आफूले अहिलेसम्म गरेको कमजोरी पनि उल्लेख गरे । । उनले पार्टी शान्ति प्रक्रियामा आएपछि आफूले मुख्य रूपमा तीनवटा गल्ती गरेको उल्लेख गर्दै पालुङटारमा भएको पार्टीको विस्तारित बैठकपछि मुखमा चुनाव मनमा विद्रोहको नीति लिनुलाई पहिलो गल्ती मानेका छन । उनले विद्रोहको कुरै गर्नुहुँदैनथ्यो भन्नु गल्ती भएको भनेका छन । सेना समायोजनका क्रममा पार्टीमा छलफल नगर्नुलाई पनि आफ्नो गल्ती स्वीकार गर्दै प्रतिवेदनमा उल्लेख गरिएको छ– ‘सेना समायोजनका बेला पर्सनल बिजनेस डिल जस्तो गरियो, केन्द्रीय समितिको म्यान्डेट पनि लिइएन, पार्टीमा छलफल पनि गरिएन, यो गल्ती भयो ।’ प्रचण्डपथलाई हठात् स्थगित गर्नुलाई पनि गल्तीको रूपमा उल्लेख गर्दै प्रतिवेदनमा भनिएको छ– ‘यसबारे पार्टीको कुनै तहमा छलफल पनि भएन । कि प्रचण्डपथ विचार नै होइन भन्नुपर्दथ्यो, विचार थियो भने यसलाई स्थगित गर्नेबारे छलफल गर्नुपर्दथ्यो ।’ तर, उनले प्रतिवेदनमा यसको अर्थ प्रचण्डपथ पुन:स्थापित गर्नुपर्छ भन्ने नभएको प्रस्टीकरण पनि दिएका छन ।
प्रतिक्रिया लेख्नुहोस्:-