शहिद स्मारक राष्ट्रिय ए डिभिजन लिग फुटबल प्रतियोगितामा बिग्रड ब्वाइज क्लब (बिबिसी) पेनाल्टीमा चुक्दा हार व्यहोर्न बाध्य भएको छ । पोखरा रंगशाला स्थित फुटबल मैदानमा भएको खेलमा बिबिसी पेनाल्टीमा चुक्दा मनाङमस्र्याङदीसंग १–० ले हारेको हो । मनाङको जितमा अञ्जन विष्ट नायक बने ।
खेलको १५ औँ मिनेटमा बिबिसीले पेनाल्टीको अवसर प्राप्त गरेको थियो । मनाङका अदित्य चौधरीले शिशिर लेखिलाई डि एरियाभित्र लडाएपछि बिबिसीले गोल गर्ने सुवर्ण अवसर प्राप्त गरेको थियो । पेनाल्टीका लागि शिशिर अघि बढेका थिए । उनको पेनाल्टी प्रहार आकाशिदा बिबिसी अग्रता लिन बाटमात्रै चुकेन लिगको रेलिगेसनमा पर्ने खतरालाई समेत अघि बढायो । बिबिसीलाई आगामी यात्रा निकै कठिन देखिएको छ । बिबिसीले पाएको अवसरको सदुपयोग गर्न नसक्दा हार व्यहोरेको हो । खेलको सुरुवात देखिनै मनाङलाई दबाबमा राखेको बिबिसीले बारम्बार गरेको प्रहारलाई पोष्टको दिशा दिन सकेन । खेलको छैटौं मिनेटमा नै बिबिसीका भुवन बस्नेतको प्रहार बाहिरीयो । २२ औं मिनेटमा राजत तिवारीको प्रहारमा मनाङका गोलरक्षक अशोक बराल बाधक बने । ३१ औं मिनेटमा शिशिरको वानटच पासमा रुडे एमबाकोपको पोष्ट नजिकैको प्रहार बाहिरिदा बिबिसी अग्रता लिनबाट चुक्यो । ३३ औं मिनेटमा ओलावालेको प्रहारलाई बिबिसीका गोलरक्षक ग्रुप्रित सिंहले बचाउ गर्दै संकट टारे । कप्तान अञ्जन विष्टले मिलाइ दिएको पासमा ओलावालेले टोलीलाई अग्रता दिलाउने अवसर पाएका थिए । ४१ औं मिनेटमा कप्तान रोशन रानामगरको प्रहारमा गोलरक्षक बाधक बने । ४३ औं मिनेटमा ओलावालेले बल अघि बढाउँदै प्रहार गर्न खोजेपनि बिबिसीका गोलरक्षक सिंह चलाखीपूण तरिकाले अघिबढ्दै बचाउ गरे ।
खेलको ४५ औं मिनेटमा कप्तान अञ्जन विष्टले उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाए । पुजनको फ्रिकिक प्रहारमा दिनेश राजवंशीले हेड गर्दा गोलरक्षकले बचाउ गर्दा रिवाउन्ड हुने क्रममा खेलाडीहरु अक्मकिदा विष्टले उत्कृष्ट गोल गरेका हुन् ।
६५ औं मिनेटमा शिशिरले प्रहार गरेको फ्रिकिक निकै आकाशिदा बराबरी गर्नबाट चुके । उनको अधिकांश प्रहार बाहिरीएको थियो । ८१ औं मिनेटमा अञ्जन विष्टको हेडर क्रसबारमा लाग्दै बाहिरीदा मनाङ अग्रता दोब्बर गर्नबाट चुक्यो । ८४ औं मिनेटमा भुवन बस्नेतको भलि प्रहार बारमा लाग्दै फर्किदा अर्को अवसर खेर गयो ।
उता जितबाट पनि मनाङ भने त्रासमै छ । लिगमा आइतबार मछिन्द्र र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ । मनाङ शिर्षमा रहँदै एएफसी खेल्न चाहान्छ । उता मछिन्द्र पनि जित निकाल्दै एएफसी कप खेल्न चाहान्छ । आइतबारको खेल मछिन्द्रलाई पनि जित्नैपर्ने दबाब छ । मनाङको एएफसी खेल्ने वा नखेल्ने अब मछिन्द्र र पुलिसको खेलले निर्धारण गर्नेछ ।
पेनाल्टीमा चुक्नु नै हाम्रो दुर्भाग्य : सनोज श्रेष्ठ (प्रशिक्षक बिबिसी)
आज खेलाडीले राम्रो खेल प्रदर्सन गरे । खेलाडीको खेलबाट म निकै सन्तुष्टि छु । हाम्रो लागि पेनाल्टी मिस हुनु दुर्भाग्य सावित भयो । पेनाल्टीमा चुक्दा खेलको स्वरुप नै परिवर्तन भयो । हामी आजको खेल बराबरीमै राक्दै १ अंक बटुल्न चाहान्थ्यौँ । खेल बराबरीकै थियो तर नतिजा गोल खायौँ । अब हामीलाई झन गाह्रो भएको छ लिगमा । अब ठुला क्लबहरुसंग प्रतिस्पर्धा गर्नुपर्ने छ हामीलाई निकै कठिन भएको छ ।
बिबिसीले नसोचेको खेल खेल्यो : राजेन्द्र तामाङ (प्रशिक्षक मनाङ मस्र्याङदी)
आजको खेलमा बिग्रडले नसोचेको खेल देखायो । हिजो उनहरुको रणनीति अर्कै थियो । आज खेलमा परिवर्तन भयो । निकै टफ गेम भयो । हाम्रो लागि ३ अंक महत्वपूर्ण थियो । त्यो प्राप्त गर्यौ । तर एएफसीका लागि भने पुलिस र मछिन्द्रको खेलले निर्धारण गर्छ । हाम्रा खेलाडीलाई अंग्रेजी नयाँ वर्षले पनि असर गरेको देखियो । पोखरामा न्यु इएर मनाउदा खेलाडीले खेलमा राम्रो नतिजा हासिल गर्न भने सकेनन् ।


























प्रतिक्रिया लेख्नुहोस्:-