पोखरा, १७ भदौ । अविरल वर्षाका कारण पोखराको विभिन्न स्थानमा पहिरोले घर पुरिदा ५ जनाको मृत्यु भएको छ भने १ जना वेपत्ता भएका छन् । मृत्यु हुनेमा चारजना पुरुष र २ जना महिला रहेका छन । अरु पाँचजना घाईते भएका छन् ।

पहिरोले घर पुरिँदा पोखरा महानगरपालिका–२० भलामका ४५ वर्षिय कृष्ण श्रेष्ठ, उनकी श्रीमति ३५ वर्षिया सुनमाया तामाङको मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।
उनीहरुका तीनवर्षका छोरा सन्तोष बेपत्ता छन् भने अर्का ९ वर्षिय छोरा राजकुमार घाइते भएको हमालले बताए । उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

हमालका अनुसार सुनमायाको घटनास्थलमै र श्रेष्ठको अस्पतालमा उपचारका क्रममा मृत्य भएको हो । यस्तै भलामकै मुलाबारीमासमेत पहिरोले पुरिएर आमा छोराको ज्यान गएको छ ।

घरको पछाडीतर्फबाट आएको पहिरोले सुतिरहेका २९ वर्षिया विष्णु सार्की र उनका ८ वर्षका छोरा सन्तोष सार्कीलाई पुरेको हो । उनीहरुको शव ४ घण्टा लगाएर निकालिएको छ । वेपत्ता सन्तोषको खोजी कार्य भइरहेको उनले बताए ।

त्यस्तै पोखरा–११ नमूनाटोमा पहिरोले घर पुरिँदा ४२ वर्षिय लक्ष्मण सार्कीको मृत्यु भएको छ । उनकी १४ वर्षिया छोरी श्रृष्टि उपचारपछि घर फर्केकी छिन । त्यस्तै पोखरा–११ बाहुँ बसेरीमा पहिरोमा परेर तीनजना सामान्य घाइते भएको हमालले जानकारी दिए । पोखरा ३ नदीपुरमा घर जोखिम, वडा ८ र ५ जोड्ने पुल जोखिममा परेको उनले बताए ।






















प्रतिक्रिया लेख्नुहोस्:-