पोखरा / ज्यान र डाँका सम्बन्धी मुद्दामा सजाय भोगिरहेका एक कैदी कारागारबाट फरार भएको चार दिनपछि पोखराबाट पक्राउ परेका छन् ।
कास्की जिल्ला अदालतबाट ज्यान र डाँका सम्बन्धी मुद्दामा जन्मकैदको ठहर भई कारागार कार्यालय कास्कीमा सजाय भुक्तान गरिरहेका सन्तोष जलारी फरार भएको प्रहरीले जनाएको छ। ३७ वर्षीय जलारी पोखरा महानगरपालिका–१८ खपौदीका बासिन्दा हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार जलारी असोज १९ गते बिहान २ बजे कास्की कारागारबाट फरार भएका थिए। उनी फरार भएको सूचनापछि तालुक गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्की मातहतबाट संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो।
खोजीका क्रममा उनलाई असोज २३ गते पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित न्यु झरना गेस्ट हाउसमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका जलारीमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बिरेन्द्रकुमार पासवानले जानकारी दिएका छन्।

























प्रतिक्रिया लेख्नुहोस्:-