नुवाकोट। रसुवाको माथिल्लो क्षेत्र (भोटेकोशी) हुँदै आएको त्रिशूली नदीको भीषण बाढीका कारण नुवाकोटको विदुर नगरपालिका-१०, बेत्रावतीमा एक हृदयविदारक घटना सार्वजनिक भएको छ। बाढीले पुरेको एउटै घरभित्र लेदोले थिचिएको अवस्थामा २२ जनाको शव फेला परेको छ।
बाढी आएको छैटौँ दिन सोमबार खोजी तथा उद्धारका क्रममा सुरक्षाकर्मीको टोलीले उक्त घरभित्र एकै ठाउँमा २२ वटा शव फेला पारेको हो। सोमबार टोलीले लेदो पन्छाएर ६ वटा शव बाहिर निकालेको छ भने बाँकी १६ वटा शव मंगलबार बिहान निकालिने भएको छ।
बाढीको वितण्डा सुरु भएपछि ज्यान जोगाउन ती मानिसहरू सुरक्षित स्थान ठानेर सोही घरमा भेला भएको अनुमान गरिएको छ। धेरै दिनसम्म हिलो र लेदोमा पुरिएका कारण फेला परेका शवहरू पहिचान गर्नै नसकिने अवस्थामा पुगेका छन्।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख (एसपी) विपिन रेग्मीले बेत्रावतीको सो घरभित्र ठूलो संख्यामा मानवीय क्षति भएको पुष्टि गरेका छन्। सोमबार कठिन परिस्थितिका बीच केही शव निकालिएको र बाँकी शव निकाल्ने काम मंगलबार बिहानैदेखि पुनः सुरु गरिने उनले जानकारी दिए।
यसैबीच, स्थानीयस्तरबाट भने उद्धारमा ढिलाइ भएको भन्दै आक्रोश व्यक्त गरिएको छ। स्थानीय पत्रकार लक्ष्मण डंगोलका अनुसार सो घरभित्र मानिसहरू थिचिएको आशंकामा तत्काल खोजी तथा उद्धारका लागि प्रमुख जिल्ला अधिकारीदेखि प्रधानमन्त्रीसम्म ध्यानाकर्षण गराउँदा पनि समयमै सुनुवाइ हुन सकेको थिएन।
गत बुधबार आएको विनाशकारी बाढीले बेत्रावती बजार क्षेत्रलाई पूर्ण रूपमा तहसनहस बनाएको थियो। बाढीका कारण भएको यो क्षति रसुवा र नुवाकोट क्षेत्रमा हालसम्मकै भयानक त्रासदीमध्ये एक बनेको छ।




























प्रतिक्रिया लेख्नुहोस्:-