पोखरा । नेपाल ज्योतिष परिषद्, कास्कीको आयोजनामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन–२०८३ भव्य रूपमा सम्पन्न भएको छ। सम्मेलनमा ज्योतिष, कर्मकाण्ड, वास्तु तथा तन्त्रशास्त्रसँग सम्बन्धित विविध विषयमा विद्वान्हरूबीच विचार आदानप्रदान तथा अन्तरक्रिया गरिएको थियो।
ज्योतिष सत्रमा वक्ताहरूले आधुनिक समयमा ज्योतिषशास्त्रलाई वैज्ञानिक अध्ययन, अनुसन्धान तथा व्यवहारिक प्रयोगसँग जोड्दै अघि बढाउनुपर्ने आवश्यकता औँल्याए। ग्रह, नक्षत्र तथा खगोलीय प्रभावसम्बन्धी अध्ययनलाई तथ्य र अनुसन्धानमा आधारित बनाउनुपर्ने धारणा सहभागीहरूले व्यक्त गरेका थिए।

कर्मकाण्ड तथा वास्तुशास्त्रसम्बन्धी छलफलमा वर्तमान समाजमा देखापरेका भ्रम, विकृति तथा व्यावहारिक चुनौतीहरूको समीक्षा गरिएको थियो। वक्ताहरूले परम्परागत ज्ञानलाई युगअनुकूल रूपमा प्रस्तुत गर्दै शास्त्रीय मान्यता र व्यवहारिक प्रयोगबीच सन्तुलन कायम गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमका प्रमुख अतिथिले वैदिक सनातन परम्पराको संरक्षण र प्रवर्द्धनमा ज्योतिष, वेदान्त तथा तन्त्रशास्त्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे। उनले वेदान्त दर्शनलाई जीवनदर्शनको आधारका रूपमा ग्रहण गर्दै त्यसको मर्म बुझेर मात्र तन्त्र र अन्य आध्यात्मिक विषयहरूको गहिरो अध्ययन गर्न सकिने बताए। साथै, ज्योतिष सेवा समाजलाई सकारात्मक दिशा दिने, मर्यादित तथा प्रेरणादायी पेशाका रूपमा स्थापित हुनुपर्ने धारणा राखे।
सम्मेलनका अवसरमा सुन झाँक्री सूर्यद्वारा स्थापित “उत्कृष्ट ज्योतिष पुस्तक सम्मान” यस वर्ष ज्यो. प्रेमकुमारी गुरुङलाई प्रदान गरिएको थियो। उक्त सम्मानले ज्योतिष साहित्यको विकास तथा अनुसन्धानात्मक लेखनलाई थप प्रोत्साहन पुग्ने विश्वास व्यक्त गरिएको थियो।
सम्मेलनमा देशका विभिन्न स्थानबाट आएका ज्योतिषी, अनुसन्धानकर्ता, साधक तथा पूर्वीय विद्याका अध्येताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। झण्डै दुई सयभन्दा बढी सहभागी रहेको कार्यक्रममा ज्योतिषशास्त्र, वास्तु, तन्त्र र कर्मकाण्डका समसामयिक विषयमा विस्तृत छलफल भएको आयोजकले जनाएको छ।

कार्यक्रमको अध्यक्षता नेपाल ज्योतिष परिषद्, कास्कीका अध्यक्ष रामजीप्रसाद आचार्यले गरेका थिए। स्वागत मन्तव्य केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज ज्यो. दुर्गा आचार्य दाहालले व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन सचिव गौरव ढुङ्गानाले गरेका थिए।


























प्रतिक्रिया लेख्नुहोस्:-