‘ब्रेक फेल भयो ब्रेक फेल भयो भन्नुभयो, मलाई त मजाक गरेजस्तो लाग्यो । पछि साच्चिकै रहेछ । ओरालोमा स्पिड हुने नै भयो, ढिस्कोमा ठोक्किएर गाडी खोल्सामा खस्यो, त्यसपछि त के भयो भयो कसरी बचे के भयो थाहै पाइएन
पोखरा / मनकामना दर्शन गरेर फर्किएका भारतीय पर्यटक सवार इभी माइक्रो दुर्घटनाका घाइतेले ब्रेक फेल भएको बताएका छन् । ७ जनाको मृत्यु र ८ जना घाइते हुने गरी भएको दुर्घटना ब्रेक फेलका कारण भएको सहचालक सन्तोष गुरुङले बताएका छन् । उनका अनुसार चालकले ब्रेक लागेन भनिरहेका थिए । ढिस्कोमा ठोक्किएर माइक्रो खोल्सामा खसेको थियो ।
‘ब्रेक फेल भयो ब्रेक फेल भयो भन्नुभयो, मलाई त मजाक गरेजस्तो लाग्यो । पछि साच्चिकै रहेछ । ओरालोमा स्पिड हुने नै भयो, ढिस्कोमा ठोक्किएर गाडी खोल्सामा खस्यो, त्यसपछि त के भयो भयो कसरी बचे के भयो थाहै पाइएन’ उनले भने, ‘एक घण्टा भनेर गएको ४–५ घण्टा भुलेको उनले बताए । बाटो साघुरो र ओरालो थियो । हामी हाम फालेका होइनौं । कसरी बचियो थाहा छैन ।’
मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कान्टारमा दुर्घटना भएको हो । बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार रहेका थिए । भारतीय पर्यटक मुक्तिनाथ दर्शन गरी फर्किएका थिए, त्यसपछि उनीहरु पोखराबाट मनकामना पुगेका थिए ।
दुर्घटनामा परि तमिलनाडु राज्यका ५८ वर्षीय मुतु कुमार, ५८ वर्षका अनामलिक, ५९ वर्षकी मिनाक्षी, ५३ वर्षकी सिवगामी, ५७ वर्षकी विजायल, ५८ वर्षकी मिना र ६० वर्षकी तमिलारशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक राजन लम्सालले जानकारी दिए ।
उनका अनुसार नेपाल स्थित भारतीय दूतावास र आफन्तहरुको समन्वयमा कानूनी प्रक्रिया पुरा गरी मृतकको शव पठाउने तयारी भइरहेको छ ।
यस्तै घाइते हुनेमा चालक लमजुङ सुन्दरबजार नगरपालिका १ का ४६ वर्षीय पुष्पमल्ल ठकुरी, सहचालक वेशीशहर ३ का २९ वर्षका सन्तोष गुरुङसहित भारत तामिलनाडु राज्य घर भएका ६२ वर्षका सोरनम, ६५ वर्षका मंगदा, ७५ वर्षकी शुभाद्रा, ६५ वर्षकी मयाल, ७३ वर्षकी सरोजा, ६५ वर्षकी भाग्य लक्ष्मी र ३४ वर्षकी मिनाक्षी रहेकी छन् ।
घाइतेहरुको तत्काल उद्धार गरी आबुखैरेनी गाउँपालिका अस्पताल लगिएको थियो । उनीहरुको थप उपचारका लागि पुरानो मेडिकल कलेज चितवन रिफर गरिएको थियो । मृतकको शव प्रदेश अस्पताल गोरखामा राखिएको छ ।
























प्रतिक्रिया लेख्नुहोस्:-