पोखरा / अर्जुन कुमालको १०३ रनको शतकीय प्रदर्शनीले कास्की प्रधानमन्त्री कप एक दिवसीय गण्डकी प्रदेश स्तरीय क्रिकेटको फाइनलमा पुगेको छ । आइतबार भएको सेमीफाइनलमा तनहुँलाई १८७ रनले हराउँदै कास्की पीएम कप गण्डकी छनोटको फाइनलमा पुगेको हो ।
जारी प्रतियोगितामा उत्कृष्ट लयमा रहेका अर्जुनले सर्वाधिक रन समेत बनाएका छन् । ३ खेलमा उनको २२६ रन छ, जुन प्रतियोगिताकै सबैभन्दा बढी रन हो । अर्जुनले बागलुङ विरुद्धको खेलमा ३२ रन बनाउँदै रनआउट हुन पुगेका थिए भने नवलपुर विरुद्धको खेलमा ९१ रन बनाएका थिए ।
गण्डकी प्रदेश क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा २९६ रनको विशाल विजयी लक्ष्य पाएको तनहुँ ३० ओभरमा १०८ रन बनाउँदै अलआउट हुन पुग्यो । तनहुँका लागि ओपनर समिर कडेल र देव राई बाहेक अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । वर्षाको कारण ५० ओभरको खेल ४५ ओभरमा झारिएको थियो ।
समिर कडेल ६४ रनमा नटआउट रहे पनि जितका लागि पर्याप्त भएन । उनले ७५ बलमा ८ चौका र २ छक्का प्रहार गरे । यस्तै, देवले २५ रन जोडे । उनले ४१ बलमा ४ चौका प्रहार गरे । तनहुँका ५ ब्याटर शून्यमै पेभिलियन फर्किए । सुप्रिम सुनार र नितिश मोक्तानले ५ रन जोडे । दिनेश बुढामगर रिटायर्ड आउट भए ।
कास्कीका लागि कप्तान विपिन खत्रीले ८ ओभरमा २ मेडनसहित २६ रन खर्चेर ३ विकेट लिए । यस्तै, विश्वास पराजुलीले ३, कृष्ण पौडेलले २ तथा सुवाष भण्डारीले १ विकेट लिए ।
त्यसअघि पोखरा क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको कास्कीले ४५ ओभरमा ६ विकेट गुमाउँदै २९५ रन बनायो । पहिलो विकेट २९.५ औं ओभरमा गुमायो । निकै उत्कृष्ट सुरुवात गरेको कास्कीका लागि ओपनरद्वय अर्जुन कुमाल र मुस्कान थापाले १७१ रनको उत्कृष्ट साझेदारी गरे । यो जारी प्रतियोगिताकै सबैभन्दा ठूलो साझेदारीसमेत हो ।
कास्कीले पहिलो विकेटको रुपमा मुस्कानलाई गुमायो । उनी समिर कडेलको बलमा मनिष गैरेबाट क्याच आउट भए । मुस्कानले ७७ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ५९ रनको योगदान दिए ।
यस्तै, दोस्रो विकेटको रुपमा अर्जुनलाई गुमायो । ३५ औं ओभरको तेस्रो बलमा उनी वंश क्षेत्रीको बलमा इशान श्रेष्ठबाट क्याचआउट भए । अर्जुनले ११८ बलको सामना गर्दै १४ चौका र १ छक्का प्रहार गर्दै १०३ रनको योगदान दिए । उनी प्लेयर अफ दी म्याच घोषित भए ।
सिब्रिन श्रेष्ठ ४३ रनमा आउट भए । उनले ३२ बलमा ३ चौका र २ छक्का प्रहार गरे । रोहित चन्द १७ रनमा आउट भए । कप्तान विपिन खत्री २१ रनमा आउट भए । उनले ११ बलमा २ छक्का प्रहार गरे । कृष्ण पौडेल २६ रन बनाउँदै आउट भए भने अंकित गजुरेल २ र सुवाष भण्डारी १ रनमा नटआउट रहे ।
तनहुँका लागि रमेश साह र विरु बादलले २÷२ तथा वंश क्षेत्री र समिर कडेलले १÷१ विकेट लिए ।
यस्तै, दोस्रो सेमीफाइनलमा आज स्याङ्जा र नवलपुर बीच हुँदैछ, उक्त खेलको विजेताले फाइनलमा कास्कीको सामना गर्नेछ । जारी प्रतियोगिताबाट खेलाडी छनोट गरी गण्डकीको टिम घोषणा गरिनेछ । उक्त टिमले ७ गते बागमती र मधेश प्रदेशले संयुक्त रुपमा आयोजना गर्ने राष्ट्रिय पीएम कपमा सहभागिता जनाउने छ ।
बागलुङले पर्वतलाई हरायो
यस्तै प्रतियोगिताको अर्को खेलमा बागलुङले पर्वतलाइ हराएको छ । लेखनाथस्थित इडन हेवन क्रिकेट मैदानमा भएको प्रतिष्ठाको खेलमाबागलुङले पर्वतलाई १२ रनले हराएको हो ।
टस जितेर व्याटिङ थालेको बागलुङले २५ ओभरमा ९ विकेट गुमाउँदै १७२ रन बनायो । बागलुङका लागि ओपनर आरश तामाङले ५४ रनको अर्धशतकीय पारी खेले । उनले ४१ बलमा ४ चौका र ४ छक्का प्रहार गरे । विवेक नेपालीले १५, अमित कमार महतोले २, दिवस कुँवर १२, सहिल स्वर्णकार २८ रनमा आउट भए । विश्व कार्की २६ रनमा नटआउट रहे ।
पर्वतका लागि रोशन गौतमले ४, राजु थापाले २ तथा अभिषेक थापाले १ विकेट लिए ।
१७३ रनको विजयी लक्ष्य पाएको पर्वतले २५ ओभरमा ८ विकेट गुमाउँदै १६० रनमात्रै बनाउन सफल भयो । वर्षाका कारण खेल २५ ओभरमा झारिएको थियो । पर्वतका लागि रोशन गौतमले ५६ रनको योगदान गरे । अभिराज पटेल २४, अभिषेक थापा १९ रनमा आउट भए । बागलुङका लागि कुशल खड्का र विश्व कार्कीले २÷२ तथा अश्विन थापा, सञ्चार निउरे र सहिल स्वर्णकारले १÷१ विकेट लिए ।



























प्रतिक्रिया लेख्नुहोस्:-