पोखरा, असार ३२ — झण्डै तीन दशकअघि घटेको कर्तव्य ज्यान मुद्दामा फरार रहेका अभियुक्त फत्तबहादुर शाही (फिरोज) लाई प्रहरीले अन्ततः पक्राउ गरेको छ। गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट खटिएको विशेष टोलीले उनलाई स्याङ्जाको चापाकोट नगरपालिका–४, धुलिचौरबाट पक्राउ गरेको हो।
वि.सं. २०५२ साल चैत्र २२ गते तनहुँ जिल्लाको ढोरफिर्दी गाविस–८ (हाल भिमाद नगरपालिका–८) र भानुमति गाविस, राईपुर सिमानास्थित क्याङ्दी खोला र वरखोला बीच जरेबरमा सामान्य वादविवादका क्रममा उनले चित्रबहादुर खाँणमाथि खुकुरी र छुरी प्रहार गरी हत्या गरेका थिए। उक्त घटनामा संलग्न ठहर भई सम्मानित जिल्ला अदालत तनहुँले वि.सं. २०६० साल माघ २८ गतेको फैसलाले उनलाई कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय सुनाएको थियो। तर शाही उक्त फैसलापछि फरार रहेका थिए।
३ दशकसम्म फरार रही लुकिछिपी बस्दै आएका शाहीलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। उनी हाल ५१ वर्षका छन्। पक्राउ परेपछि उनलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पुराना तथा फरार अभियुक्तको खोजी अभियानलाई अझ प्रभावकारी बनाउँदै लगिने छ। यस प्रकारका फरार अभियुक्तलाई कानुनको दायरामा ल्याउन प्रहरी सतर्क र प्रतिबद्ध रहेको बताइएको छ।


























प्रतिक्रिया लेख्नुहोस्:-