ललितपुर / नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को प्रयोग बढ्दै गए पनि यसको सुरक्षित र दिगो विस्तारका लागि स्पष्ट नीति, सुरक्षा मापदण्ड, चार्जिङ पूर्वाधार र दक्ष जनशक्ति विकासमा जोड दिन सरोकारवालाले आग्रह गरेका छन्।
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले ललितपुरको ग्वार्कोस्थित होटल टुलिपमा आयोजना गरेको दुईदिने ‘पोलिसी डायलग अन ईभिजन नेपालः ड्राइभिङ द फ्युचर’ कार्यक्रममा सहभागी नीति निर्माता, सरकारी अधिकारी, उद्योगी, अनुसन्धानकर्ता, शिक्षाविद् तथा युवा नवप्रवर्तकले ईभीको विस्तारसँगै नियमन र सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताएका हुन्।
कार्यक्रममा ईभीको वर्तमान अवस्था, नीतिगत सुधार, चार्जिङ पूर्वाधार, ब्याट्री सुरक्षा तथा व्यवस्थापन, वित्तीय प्रोत्साहन, सीप विकास र आगामी रणनीतिबारे छलफल गरिएको थियो।
नासा नेपालले २ हजारभन्दा बढी सहभागीको सर्वेक्षण र ३० जना सरोकारवालासँगको अन्तर्वार्तामा आधारित अध्ययनसमेत कार्यक्रममा सार्वजनिक गरेको थियो। रेज कन्सल्ट प्रालिका अनुसन्धानकर्ता प्रविण सिंह भण्डारीले प्रस्तुत गरेको प्रतिवेदनले ईभीको प्रयोग तथा प्रवर्द्धनका लागि वित्तीय प्रोत्साहन, चार्जिङ पूर्वाधार, सुरक्षा मापदण्डको कार्यान्वयन, जनचेतना, सार्वजनिक यातायातको विद्युतीकरण र सम्बन्धित निकायबीच संस्थागत समन्वयलाई प्रमुख नीतिगत स्तम्भका रूपमा अघि सारेको छ।
यातायात व्यवस्था विभागका प्राविधिक निर्देशक मणिराम भुसालले नेपालमा ईभीको प्रयोग बढिरहेको उल्लेख गर्दै टाइप अप्रुभल, सीओपी, मोटर तथा ब्याट्री सुरक्षा, तेस्रो पक्ष परीक्षण र एबीएस, ईबीडी तथा एयरब्यागजस्ता सुरक्षा मापदण्ड अनिवार्य गर्ने तयारी भइरहेको जानकारी दिए।
प्रतिनिधिसभा पूर्वाधार विकास समितिका अध्यक्ष आशिष गजुरेलले सडक सुरक्षा, चार्जिङ पूर्वाधार, ब्याट्री रिसाइक्लिङ र स्वदेशी ईभी उत्पादनलाई सरकारले प्राथमिकतामा राखेको बताए। उनले ईभी उत्पादन, रिसाइक्लिङ र चार्जिङ पूर्वाधारमा निजी क्षेत्र तथा विदेशी लगानीकर्तालाई लगानी गर्न आग्रह गरे।
नेपाल विद्युत् प्राधिकरणको क्लिन इनर्जी इनोभेसन विभागका सागर ज्ञवालीले ईभीका लागि अन्तरसहर चार्जिङ सञ्जाल विस्तार आवश्यक रहेको बताए। ईभी क्षेत्रको प्रभावकारी नियमनका लागि छुट्टै स्वायत्त सरकारी निकायको आवश्यकतामाथि पनि उनले जोड दिए।
काठमाडौं विश्वविद्यालयकी प्राध्यापक सिरपा श्रेष्ठले ब्याट्री सुरक्षा, चार्जिङ पूर्वाधार, ब्याट्री रिसाइक्लिङ र लाइफ साइकल एसेसमेन्टमा अनुसन्धान भइरहेको बताइन्। नेपालले आफ्नै ड्राइभिङ साइकल र मापदण्ड विकास गर्नुपर्ने भन्दै उनले विश्वविद्यालय, उद्योग र सरकारबीच सहकार्य तथा राष्ट्रिय डेटा प्रणालीको आवश्यकता औँल्याइन्।
पूर्वमन्त्री योगेश भट्टराईले सडक सुरक्षा, पूर्वाधार मापदण्ड, ईभीसम्बन्धी कानुनी स्पष्टता, ब्याट्री पुनःप्रयोग र राजस्व नीतिबीच सन्तुलन आवश्यक रहेको बताए। बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्रप्रसाद प्रजापतिले सुरक्षा र दिगोपनामा सम्झौता नगरी ईभी प्रवर्द्धन गर्नुपर्ने धारणा राखे।
कार्यक्रममा अटोमेकानिक्स क्षेत्रमा ईभीका कारण रोजगारी र सीपमा पर्न सक्ने प्रभावबारे समेत छलफल भएको थियो। सहभागीहरूले चालक तथा अटोमेकानिक्सको तालिम, क्षमता विकास र ईभीको प्रयोग तथा सुरक्षासम्बन्धी जनचेतना विस्तार गर्नुपर्नेमा जोड दिए।
कार्यक्रमका क्रममा नेपालमा निर्मित पहिलो हाइब्रिड गाडी बनाउने युवा शहजाद आलमलाई नासा नेपालले सम्मान गर्दै ३० हजार रुपैयाँ सहयोग गरेको थियो।
कार्यक्रमको समापनमा पूर्वाधार विकास मन्त्रालयका सहसचिव इन्जिनियर सुशीलबाबु ढकालले विद्युतीय सवारीको प्रवर्द्धन तथा नियमनका लागि सरकारले अघि बढाइरहेका योजना तथा कार्यक्रमबारे जानकारी दिए।
कार्यक्रमले ईभीको सुरक्षित, व्यवस्थित र दिगो विस्तारका लागि सरकार, निजी क्षेत्र, प्राविधिक जनशक्ति र अन्य सरोकारवालाबीच सहकार्य आवश्यक रहेको निष्कर्ष निकालेको छ।
एफआईए सेफ एन्ड सस्टेनेबल मोबिलिटी ग्रान्ट तथा एफआईए फाउण्डेसनको सहयोगमा सञ्चालित ‘ईभिजन नेपालः ड्राइभिङ द फ्युचर’ अभियानअन्तर्गत देशभर २ हजार सहभागीको सर्वेक्षण, ३० सरोकारवालासँग अन्तर्वार्ता, चारवटा क्षेत्रीय संवाद, एक राष्ट्रिय कार्यशाला र ९० पत्रकारलाई तालिम दिइसकिएको आयोजकले जनाएको छ।




























प्रतिक्रिया लेख्नुहोस्:-