काठमाडौं । विश्वकै प्रतिष्ठित ह्याकिङ प्रतियोगिता ‘ह्याकरवन एम्बास्डर वर्ल्डकप २०२४’ मा नेपाली टिम क्वाटरफाइनलबाट बाहिरिएको छ । मङ्गलबार सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै ह्याकरवनले नेपाल प्रतियोगिताबाट बाहिरिएको जानकारी दिएको हो ।

यसअघि, नेपाली टिमले बेलायतलाई पराजित गर्दै शीर्ष १६ अर्थात् क्वाटरफाइनलमा स्थान बनाएको थियो । सेमिफाइनल प्रवेशका लागि भएको प्रतिस्पर्धामा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको थियो । अब सेमिफाइनलमा नेदरल्यान्ड्स र स्पेन तथा ग्रीस र इजिप्टबीच प्रतिस्पर्धा हुनेछ । विजयी हुने टिमहरू फाइनल चरणमा आमनेसामने हुनेछन् ।
टिम नेपाली टिमका लिडर आनन्द ढकालले भिसा समस्याका कारण सबै खेलाडी प्रतियोगितामा सहभागी हुन नसकेको बताए । क्वाटरफाइनलको खेल चेक रिपब्लिकको प्रागमा भएको थियो । “हाम्रो सबै खर्च ह्याकरवनले नै बेहोर्ने गरी क्वाटरफाइनल खेल्न निमन्त्रणा दिएको थियो,” ढकालले टेकपानासँग भने, “तर भिसा समस्याका कारण आठ सदस्यीय टोलीबाट म मात्रै सहभागी हुन सकेँ ।”
“पहिले अर्जेन्टिनामा भएको प्रतियोगितामा पनि भिसाकै कारणले समस्या भयो । अहिले पनि त्यस्तै भयो,” उनले अगाडि भने, “सहभागी त्यतिका टिममध्ये अपूरो टिम नेपालको मात्र थियो । जे भए पनि राम्रै अनुभव भयो । विश्वका चर्चित ह्याकरसँग नेपाली टिमका सबै ह्याकरको नेटवर्किङ हुन पाएन, टिम निराश भयो । अलि खल्लो भयो । तर, यो हाम्रा लागि चुनौतीपूर्ण पनि थियो । हरेक वर्ष प्रतिस्पर्धी थप बलियो हुँदै आएका छन् । हामी पनि आफूलाई आफ्नो तर्फबाट आफ्नो क्षमता बढाइरहेका छौँ ।”
नेपालले २८ जनवरीदेखि ७ फेब्रुअरीसम्म चलेको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै ४० देशको प्रतिस्पर्धाबीच शीर्ष ८ मा स्थान बनाएको थियो । ढकाल ५ देखि ८ फेब्रुअरीसम्म प्रागमा थिए । नेपालले भर्चुअल रूपमा सम्पन्न ग्रुप स्टेज र क्वालिफायर राउन्डमा प्रदर्शन गरेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-