पोखरा-१०, रामबजारमा अवस्थित कालिका माध्यमिक विद्यालयको ६१औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह भव्य रूपमा सम्पन्न भएको छ।

प्रतिनिधि सभा सदस्य जीवन परियारले विद्यालयले हासिल गरेको प्रगतिको प्रशंसा गर्दै विद्यालयलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धताका साथमा राज्यले शिक्षाका क्षेत्रमा थप लगानी गर्नुपर्ने धारणा व्यक्त गरे।
पोखरा-१० का वडाध्यक्ष राजेश गुरूङले विद्यालयले गरिरहेका कार्यको उच्च प्रशंशा गर्दै विद्यार्थीको उज्जवल भविष्य निर्माणमा स्थानीय तहको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरी हाल नेपाल सरकारका उच्च ओहोदामा कार्यरत पूर्व विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। साथै अक्षयकोषदाताबाट विद्यालयमा स्थापना गरिएका विभिन्न अक्षयकोषबाट प्राप्त छात्रवृत्ति रकम विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई वितरण गरिएको थियो ।
त्यसैगरी विद्यालयका निवर्तमान प्रधानाध्यापक वलराम गिरीलाई विशेष सम्मान प्रदान गरिएको कार्यक्रममा, कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरू समीक्षा शर्मा र निर्जल कुमाललाई सम्मान गरिएको थियो। यसैगरी एस.ई.ई. परीक्षामा गणित तथा अंग्रेजी विषयमा उत्कृष्ट नतिजा ल्याउन सफल कृष्टा तिलिजा पुन र असिम सुनारलाई विद्यालयका प्रधानाध्यापक तथा गणित शिक्षक श्रीराम आचार्य एवं विद्यालयका सहायक प्रधानाध्यापक अंग्रेजी शिक्षक कुशल लामिछानेले नगद रकम सहित पुरस्कृत गरेका थिए।
कार्यक्रममा विद्यार्थीहरूले विज्ञान प्रदर्शनी, फुड फेस्टिवल, पुस्तक प्रदर्शनी, शैक्षिक सामग्री प्रदर्शनी, हस्तकला सामग्री प्रदर्शनी लगायतका प्रदर्शनी आयोजना गरेका थिए।कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथि तथा अतिथीहरूले प्रदर्शनीको अभिरूचीपूर्वक अवलोकन गर्दै विद्यार्थीहरूलाई हौसला प्रदान गरेका थिए। साथै आविष्कार हस्पिटल, पोखरा-१० र अमर फार्मेसी, पोखरा-१० को विशेष सहयोगमा अभिभावकहरूका लागि निशुल्कः स्वास्थ्य परीक्षण समेत सञ्चालन गरिएको थियो।यस अवसरमा विद्यालयका विद्यार्थीहरूले विभिन्न कला र संस्कृति झल्किने नृत्य र नाटकको विशेष प्रस्तुति पनि गरेका थिए।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्रीराम आचार्यले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने पूर्व विद्यार्थीका तर्फवाट प्र.ना.उ. कृष्ण बहादुर कार्की, विद्यार्थीहरूका तर्फवाट कक्षा १० की छात्रा सोनिया गुरूङ लगायतले आ-आफ्नो मन्तव्य राखेका थिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक बहादुर थापाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका सहायक प्रधानाध्यापक तथा सूचना अधिकारी लक्ष्मीकान्त अधिकारीले राखेका थिए। कार्यक्रम सञ्चालन विद्यालयका शिक्षक ज्ञान बहादुर थापा, सहायक प्रधानाध्यापक कुशल लामिछाने र वासुदेव अधिकारीले संयुक्त रूपमा गरेका थिए।
प्रतिक्रिया लेख्नुहोस्:-