पाेखरा। असारको पहिलो साता पोखरामा गण्डकी प्रदेशस्तरीय महिला क्रिकेट प्रतियोगिताको आयोजना गरियो ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट खेल समेत भनिएको प्रतियोगितामा मात्रै चार जिल्लाको सहभागिता रह्यो । अपेक्षित रुपमा टिम थोरै भएपछि खेल राउन्डरोविन लिगको आधारमा खेलाइयो र स्याङजा च्याम्पियन बन्न सफल भयो । त्यही प्रतियोगितामा थियो पर्वत जिल्लाको टिम ।
अन्य जिल्लाको भन्दा पर्वतको टिम कम्जोर थियो । समग्रमा खेल हेर्दा पर्वतमा अनुभवको कमी थियो नहोस पनि कसरी सबै खेलाडी कक्षा१० मुनिका ।
पर्वत ग्रामिण क्षेत्र हो, बजारमा जति सहज रुपमा महिलाले खेल्न परिवारबाट सहयोग पाउँछन् ग्रामिण भेगमा त्यतिनै असहजता छ । पर्वतको टिम त्यस्तो टिम हो जहाँ एकै विद्यालयका खेलाडी त्यसमा पनि एक खेलाडीबाहेक सबै एकै पालिकाको । पर्वत बाजुङस्थित सरस्वती माध्यामिक विद्यालयले महिला क्रिकेट खेलाडी जन्माइरहेको छ ।
एउटा प्रस्तावित माध्यामिक विद्यालय जहा माविकै स्विकृत दरबन्दी छैन् प्रावि र निमाविकै दरबन्दिमा चलेको विद्यालयले क्रिकेट खेलाडी जन्माउनु सामान्य कुरा पनि होइन् ।
विद्यालयका प्रधानाध्यापक तथा प्रशिक्षक अजय लामिछानेले विद्यालयमा क्रिकेट सिकाउँदा अनेकौं भनाई खेप्नु प¥यो । खेलाडीलाई ल्याउन निकै कसरत गर्नु प¥यो । खेलकुदमा लाग्दा पढाइमात्र होइन मान्छे नै विग्रिन्छ भन्दै आलोचित समेत भए तर क्रिकेटप्रेमी उनको मन कहाँ मान्यो र ? खेलकुदमा लागे विग्रिन्छन् भन्ने अभिभावकको मानसिकतालाई नै परिवर्तन गर्दै उनी अघि बढे टिम तयार पारे ।
‘यहाँसम्म आइपुग्दा अझैपनि कतिलाई त विश्वासै लागेको छैन् । अझ भन्नुपर्दा एउटा विद्यालयको टिमले कास्की, स्याङजा, नवलपुर जस्तो जिल्लाको टिमसँग खेल्नु सामान्य कुरापनि होइन् । कति अभिभावकलाई त बुझउनै गाह्रो छ की त्यसै टाइमपास गर्न गएजस्तो गर्नुहुन्छ’ उनी थप्छन्, ‘यो लेभलसम्म ल्याउन धेरै नै मिहेनत गरियो । स्कुलको प्रशासनिक कामदेखी पढाइहुँदै समय निकालेर क्रिकेट सिकाउनु वास्तवै सहज छैन् । यहाँ सम्म आउनु भनेको पनि सफलता हात पार्नु नै हो ।’ अब सहभागि हुनु मात्रै सरस्वती विद्यालयको सफलता होइन् । विद्यालयले त्यो टिमलाई बलियो बनाउनै पर्छ र त्योबाट उम्कने छुट छैन् । जिल्लाको त्यो टिमले क्रिकेटको ब्याट/बल छोएको भने दुई वर्ष पुरा भएको छ । ती खेलाडीले निरन्तर प्रशिक्षण समेत पाउन मुस्किल छ । जति खेलेका छन् ती सबै बेला बेलामा सिकेको सिकाइ नै हो । विद्यालय र विद्यार्थीका लागि चुनौती भनेको समय हो ।
गाउँघर भएकाले सद्यैँ समय हुँदैन घर गोठको काम त हुन्छनै तैपनि सार्वजानिक विदाको दिनहरुमा भने क्रिकेट सिक्ने समय निकाल्ने गरेका छन् । विद्यालयमा शिक्षण सिकाई अनुदान कोटाबाट दुई शिक्षक दरबन्दीले मावि चलाइरहेको त्यो पनि पूर्ण अंग्रेजी माध्यमबाट । विद्यालयमा २५० जना विद्यार्थी र २० जना शिक्षक/कर्मचारी छन् ।
विद्यालयमा एक दुई जना त करिब साढे दुई घण्टाको यात्रा गरेरै पढ्न आउछन् । ग्रामीण क्षेत्रको विद्यालयमा समेत क्रिकेट सिकाउनु सामान्य कुरा होइन् तर, महिलालाई बढी अवसर भएका कारण उनले महिला क्रिकेट अघि बढाए । ‘महिला क्रिकेटमा अवसर धेरै भएको तर, सद्यैँ ओझेलमा परेको छ । अहिले विद्यालयमा सिकेका खेलाडीले जिल्लाबाट खेल्ने अवसर पाए भोलि त राम्रो हुँदै गयो भने भोलिका दिनमा प्रदेश हुँदै राष्ट्रिय टिमबाट खेल्ने ढोका समेत खुल्ला हुन्छ’ उनले भने ।
सामुदायिक विद्यालयले पनि चाह्यो भने गर्न सक्छ भन्ने उदाहरण बनेको छ सरस्वती मावि । गतवर्ष स्याङ्जामा भएको उपमेयर रनिङशिल्ड कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाएको थियो । त्यसपछि प्रधानमन्त्री कप खेल्यो । प्रतियोगिता खेल्न प्रधानाध्यापकले आफ्नै खल्तिको पैसा हालेरै लागे गरेका छन् । अब टिमले असोजमा हुने भनिएको प्रधानमन्त्री कपको तयारी थाल्दैछ ।
उनी भन्छन्, ‘विद्यालय आर्थिक रुपमा सम्पन्न पनि छैन् । सामान किन्नका लागि पनि धेरै अभाव छ त्यसका लागि गोजीको पैसा हाल्नेदेखी सहयोगीहरु खोज्नुपर्छ । हामीलाई त विद्यालयबाट सहभागिता गराउनै पनि मुस्किल छ ।’
जिल्ला टिमकी कप्तान कृषा अखेलीले विद्यालयमै क्रिकेट खेल्ने वातावरण भएपछि खेल्न सुरु गरेको सुनाइन् । प्रदेस्तरीय प्रतियोगिताबाट आफुहरुले धेरै कुरा सिकेको र स्रोत साधन भएमा आगामी दिनमा थप उत्कृष्ट प्रदर्शनी गर्न सक्ने उनी सुनाउँछिन् ।
एक खेलाडी विहादी गाउँपालिका रानीपानीकी छिन त्यो बाहेक टिममा सबै पातीचौरका छन् । ‘सरले भन्नुभएको थियो । टिम बनाउने भनेर रंगशालामा एकपल्ट म्याच भएको थियो त्यति बेला लिएर आउनुभयो त्यहिबाट क्रिकेट खेल्न सुरु गरियो’ अखेलीले भनिन् । उनी स्पिनर हुन् । क्रिकेटमा रमाएकी उनले बलियो टिमसँग खेल्दा हार व्यहोरेको पर्वतले दुःख मानेन बरु स्याङ्जा, कास्की लगायत बलियो टिमसँग धेरै कुरा सिक्ने मौका पाए र सिके पनि । ‘सुरुमा त निकै डर लागेको थियो तर, खेल्दै जाँदा केहि सहज भयो । घरबाट क्रिकेट खेल्न रोक छैन् ।
प्रशिक्षण र प्रतियोगिता हुँदा परिवारले समेत साथ दिनुभएको छ ।’ विद्यालयमा खेल्ने मैदान निकै सानो भएको उनी सुनाउछिन् । उनीहरु जिल्लामा क्रिकेट मैदान भएको हेर्न चाहान्छन् । जहाँ मैदानमात्र होइन आवश्यक खेलकुदको सामग्री होस् भन्ने सबै खेलाडीको चाह छ ।
प्रतिक्रिया लेख्नुहोस्:-