रुसले युक्रेनको खार्किभ नजिकैको अर्को गाउँ पनि कब्जा गरेको छ । गएको हप्ता भोभचान्स्क शहर नजिकैका नौ वटा गाउँ कब्जा गरेको रुसले आज स्टारिट्स्या नामक गाउँ पनि कब्जा गरेको समाचार संस्था एएफपीले जनाएको छ ।
यो गाउँ कब्जा लिने क्रममा रुस र युक्रेनबीच तीन दिनसम्म ठूलो लडाईं भएको खबरमा उल्लेख छ । रुसी सैनिक समूहले खार्किभ क्षेत्रको स्टारिट्स्या गाउँलाई मुक्त गरेका र शत्रुको किल्लामा रुसी झण्डा फैलाएका रुसी रक्षा मन्त्रालयले जनाएको छ ।
युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेनेस्कीले रुसको यो आक्रमण पहिलो चरणको मात्र भएको र अर्को चरणमा उसले ठूलो आक्रमणको तयारी गरिरहेको सूचना आफूले पाएको बताउनुभएको छ ।
उहाँले रुसको आक्रामक रवैयाविरुद्ध आफ्ना सेना डटेर लडिरहेको र युरोपेली देशबाट थप मिसाइल तथा प्रतिरक्षा प्रणालीको सहयोग अपेक्षा गरेको बताउनुभएको छ ।
यसैबीच युक्रेनको उत्तरपूर्वी खार्किभ क्षेत्रमा रुसी सेनाले आक्रमण गरेपछि १० हजार जनाले घर छाडेर भागेका छन् । युक्रेनकै दोस्रो ठूलो सहर खार्किभ कब्जा गर्ने लक्ष्यका साथ अघि बढिरहेको रुसले एक हप्तामा निकै ठूलो सफलता प्राप्त गरेको छ ।
रुसी सेनाले यही मे ९ देखि १५ तारिखको बीचमा दुई सय ७८ वर्ग किलोमिटर युक्रेनी भूमि कब्जा गरेको छ । यो सन् २०२२ को फेब्रुअरीमा आक्रमण शुरु गरे यता सबैभन्दा छिटो कब्जा गरेको सबैभन्दा धेरै युक्रेनी भूमि हो ।
प्रतिक्रिया लेख्नुहोस्:-