लमजुङको मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा एकजना युवा बेपत्ता भएका छन्।
सुन्दरबजार नगरपालिका ९ भोटेओडारको फूलबारी नजिकै मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा मंगलबार दिउँसो उनी बेपत्ता भएका हुन् ।
आज मंगलबार दिउँसो १ बजेको समयमा पौडी खेल्न गएका जुम्लाको सिंजा गाउँपालिका १ निवासी ४५ वर्षिय नन्दबहादुर आचार्य बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले बताउनुभयो ।
उहाँका अनुसार आचार्यसंगै गएका साथीहरुसँग वुझ्दा ४ जना साथीहरु मिलेर पौडी खेल्न गएको र फर्किने क्रममा भेलले बगाएको जानकारी दिनुभयो ।
प्रहरीले अन्य ३ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले सोहि सिंजा गाउँपालिका–१ घर भएका ३४ बर्षिय पूर्णबहादुर राउत, ४२ बर्षिय जनक राउत र ४१ बर्षिय नन्द बहादुर शाहीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । बेपत्ता भएका आचार्यको खोजीकार्य भैरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-