पोखरा । फागुन २४ देखि २६ गतेसम्म चिप्ली महाशिवरात्री मेला हुने भएको छ । श्री सिद्ध युवा क्लब मादी गाउँपालिका ६ चिप्लीको आयोजनामा हुने उक्त मेला क्लबको खेल मैदानमा हुने भएको हो ।
मेलाको अवसरमा विविध खेलकुद एवम् साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । ३६ वर्ष अघि स्थापना भएको क्लबको वार्षिक उत्सवको अवसरमा मेलाको आयोजना गरिएको क्लबका अध्यक्ष नारायण गुरुङले जानकारी गराए ।‘चिप्ली महाशिवरात्री मेला क्लबको वार्षिकत्सवको अवसरमा आयोजना गरिएको हो’, उनले भने,‘कार्यक्रममा भलिबल, छेलो, रस्सी तान्ने र घैटो फुटाई जस्ता खेलकुद कार्यक्रम सहित विविध सांस्कृतिक कार्यक्रम गरिनेछ ।’
चिप्लीको विकासमा उक्त कार्यक्रम मार्फत टेवा पुग्ने विश्वास आयोजक संस्थाको छ । स्थानीय उत्पादनको प्रवद्र्धन सँगै खेलकुदका माध्यम पर्यटन प्रवद्र्धनमा चिप्लीलाई माथि उठाउन मेला साहयक सिद्ध हुने उनले उल्लेख गरे । मेलाकै समयमा मादी गाउँपालिकाको सहयोगमा सिद्ध युवा क्लबले निर्माण गरेको स्टेज समेत उदघाटन गरिने क्लबका पूर्वअध्यक्ष विशाल गुरुङले जानकारी गराए । मेलाको उदघाटन मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले गर्ने उनले बताए ।
मेलाको समयमा आयोजना गरिएको भलिबल प्रतियोगिता साबिक गाउँस्तरिय हुनेछ । जसमा २० टीमको सहभागिता रहने आयोजकको अपेक्षा छ । भलिबल प्रतियोगितामा प्रथम हुनेले ७० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै द्धितिय हुनेले ४० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने गुरुङले बताए ।
छेलो प्रतियोगितामा प्रथम हुनेले १० हजार नगद सहित फेता र प्रमाणपत्र प्राप्त गर्नेछन् । रस्सी तान्ने प्रतियोगितामा प्रथम र द्धितिय हुनेले क्रमश ः १० हजार र ५ हजार नगद सहित प्रमाण पत्र प्राप्त गर्नेछन् । घैटो फुटाई प्रतियोगिता महिलाको मात्र हुनेछ जसमा प्रथम हुनेलाई नगद ५ हजार सहित प्रमाण पत्र प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।
भलिबल प्रतियोगिताको सेमिफाइनलबाट बाहिर निस्केको दुई टीमलाई ५ हजारका दरले पुरस्कार प्रदान गरिनेछ । फागुन २५ गते बेलुका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको विविध सांस्कृतिक कार्यक्रम रहने अध्यक्ष गुरुङले जानकारी गराए ।
प्रतिक्रिया लेख्नुहोस्:-