बेसिशहर नगरपालिका ११ बरबोटमा नयाँ अन्नबाली पाकेपछि चेपाङ समुदायको न्वागी पर्व लमजुङ-बेसिशहर नगरपालिका ११ बरबोटका चेपाङ समुदायका व्यक्तिहरुले आफ्ना सबैभन्दा महान पर्व छोनाम ‘न्वागी’ आज मनाइँदै छन् ।

लोपोन्मुख चेपाङ (प्रजा) समुदायले हरेक वर्ष मध्य भदौमा यो पर्व मनाउने गर्दछन् । हरेक वर्ष भदौ २२ गते मनाइने न्वागीलाई चेपाङ जातिको विशेष पर्वका रूपमा पनि लिइन्छ ।
यो पर्वमा भदौ २२ गते सार्वजनिक बिदा तोकिएता चेपाङ समुदायमा यो पर्व मनाउँदा तीज कटाउनु हुँदैन भन्ने केहि ठाउँको मान्यता छ भने कतै भदौ महिना कटाउनु हुँदैन भन्ने मान्यता अनुसार आ–आफ्नो क्षेत्रमा फरक फरक दिनमा समेत मनाउने गरेको छ ।
यद्यपी २२ नाले वंशावली भएकोले केहि बर्ष यता भदौ महिनाको २२ गते यो चाड मनाउने गरेको पाइन्छ । यो दिनलाई राष्ट्रिय पर्वको रुपमा मनाइने भएकोले चेपाङ जातिको बाहुल्यता भएका जिल्लाहरुमा प्रदेश सरकारले सार्वजनिक विदा समेत दिने गरेको छ । यस अवसरमा चेपाङ समुदायले घैया (धान)को चामल, पिँडालु, निबुवा आदि फलफूलले भूमिलाई पूजा गरी पितृलाई खुवाउछन ।
आपसी भातृत्व र मित्रताको यस पर्वमा चेपाङ समुदायका व्यक्तिहरुले आफना छरछिमेकी, नाताकुटुम्ब निम्तो गरेर सामूहिक भोज खुवाउँछन् । यसका साथै नाचगान गरी सुखदुःख साट्ने पनि गरिन्छ । सांस्कृतिक रूपमा चेपुवामा परेका चेपाङ समुदायका लागि यस पर्वले विशेष महत्व राख्ने नेपाल चेपाङ् संघ लमजुङ्का पुर्व अध्यक्ष एवम् हालका सचिव अमृता चेपाङ्ले बताउनुभयो । गाउँघरमा न्वागीका दिन चेपाङ झाँक्री ९पान्दे० हरूले रातभर ढ्याङग्रो ठोकेर पितृ खुसी पार्छन।
यो दिन न्वागी फलाक्ने झाँक्रीका साथै अन्य मानिसले भने सांस्कृतिक नाच र गीत प्रस्तुत पनि गर्दछन् साथै उनीहरूले कुखुराका बलीसमेत दिन्छन् । आज दिउँसो चार बजेदेखि विशेष पूजा सुरु हुने र रातभर झाक्री (पान्दे)ले पितृपूजा गरी भोलि बिहान ‘बारना’ गरेर चाड समापन गर्ने पुर्वअध्यक्ष अमृता चेपाङले बताइन । लमजुङ् जिल्लामा बेसिशहर नगरपालिका ११ चिति बरबोटमा १४ घर , दोर्दी गाउँपालिका ९ भिरकुनामा ७ घर गरि २१ चेपाङ् घर रहेको जानकारी दिइन ।
प्रतिक्रिया लेख्नुहोस्:-