मोरङ । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार विश्वासको मत लिँदैछन् । यसको लागि प्रदेशसभा बैठक आज दिउँसो १ बजेको लागि तय भएको छ।
तर प्रदेशसभा उपसभामुख सृजना दनुवार आजै बिहान बिदा लिएर काठमाडौं पुगेकी छिन्। उनको अनुपस्थितिमा सभा कसले सञ्चालन गर्ने अन्यौल रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।
प्रदेशसभाका सचिव गोपाल पराजुलीका अनुसार १२ बजे कार्य व्यवस्था परामर्शको बैठकसँगै सभाको विषयमा छलफल हुनेछ।
सचिव पराजुलीले प्रदेशका मुख्यन्यायाधीवक्ता बुद्धि कटुवाल काठमाडौंमा रहेकालो आवश्यक छलफलका लागि उच्च सरकारी वकील, पूर्वमुख्यन्याधीवक्तालगायतसँग छलफल गरेर अघि बढ्ने जानकारी दिए।
मुख्यमन्त्री थापाले ३ गते विश्वासको मत लिने प्रस्ताव गरे पनि उपसभामुख दनुवारले नै सोमबारका दिन विश्वासको मत लिन समय दिएकी थिइन्।
यसअघि, आइतबार एमालेका ७ जना र राप्रपाका १ जना प्रदेशसभा सदस्य घरायसी कारण देखाएर बिदामा बसेका छन्।
राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले कोसी प्रदेशमा राजनीतिक विकृति देखिएको बताँउछन्।
‘नेपाली राजनीतिमा यति सारो घटनाक्रम देखिएको थिएन। केही हुन्थे। तर एकैपटक सबैजना विभिन्न कारण देखाएर सदनबाहिर हुनु चाहिं सही भएन। यसले संविधान प्रदत्त संघीयतालाई असर पार्ने खेल दलहरूले नै सुरु गरेजस्तो देखियो’, उनले भने।
यस्तै घटनाक्रमबाट स्वतन्त्र पार्टी, स्थानीय तहमा स्वतन्त्रको जित, राप्रपाको अस्तित्वमा बल पुगेको उनको भनाइ छ।
प्रदेशसभामा उपसभामुखको अनुपस्थितिमा अध्यक्ष मण्डलबाट नेपाली कांग्रेसका इस्राईल मन्सुरीले कार्यभार पाउने भएका छन्।
चार जना दस्य रहेको अध्यक्ष मण्डलमा पहिलो नम्बरमा एमालेकी मालतीकुमारी लिम्बू, दोस्रो स्थानमा राप्रपाका अम्बरबहादुर विष्ट, तेस्रो स्थानमा कांग्रेसका मन्सुरी र चौथो स्थानमा माओवादीकी गीता तिम्सिना रहेका छन्।
सभा सञ्चालन गर्नुपर्ने अवस्था देखिएपछि घरायसी कारण देखाउँदै लिम्बू र विष्ट बिदामा रहेका छन्।
सभा सञ्चालनको जिम्मेवारी मन्सुरीमा आएपछि ४७ सदस्य सिट रहेको गठबन्धनको बहुमत ४६ मा सीमित हुनेछ। यस्तो अवस्थामा आजको सभा सञ्चालन हुने वा नहुने अन्यौल देखिएको छ।






























प्रतिक्रिया लेख्नुहोस्:-