लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङको आयोजनामा आत्महत्या रोकथाम सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयाे ।
कार्यक्रमका सहभागीहरुले आत्महत्या एक सामाजिक समस्या भएकाले यसको रोकथामका नागरिक र सरकार पक्ष एकजुट हुनुपर्ने बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलले ९५ प्रतिशत व्यक्तिहरु कुनै न कुनै किसिमको मानसिक रोगबाट ग्रसित भएको कारण आत्महत्या गर्ने गरेका छन् ।
तथा ५ प्रतिशत व्यक्तिहरु एक्कासी तनाव पूर्ण अवस्थामा आएर आत्महत्या गर्ने गरेको पाइएको वताए ।
यसैगरी अत्यधिक मादक पदार्थ तथा लागु औषधको सेवन, सहनशिलताको कमी, आफन्त साथि भाईको तिरस्कार, सामाजिक सञ्जालको अत्यधिक संचालन लगायतका कारण पछिल्लो समय आत्महत्या गर्नेहरुको सङ्ख्यामा वृद्धि भइरहेको उनको भनाई थियो ।
जिल्लाको तथ्याङ्क प्रस्तुत गर्दै प्रहरी नायव उपरीक्षक श्रीमलले आर्थिक वर्ष २०७८/७९ मा लमजुङ जिल्ला भरीमा ३८ वटा आत्महत्याको घटना भएको तथा आर्थिक वर्ष २०७९/८० मा ३९ वटा आत्महत्याका घटना भएको वताए ।
जेष्ठ नागरिक तथा वालवालिकाले समेत उल्लेख्य सङ्ख्यामा आत्महत्या गरिरहेकाले न्यूनिकरणका लागि स्थानीय सरकार, सरोकारवाला संघसंस्था सवै हातेमालो गरेर अगाडी बढ्नुपर्नेमा उनले जोड दिए ।
जिल्ला समन्वय समिति लमजुङका उपप्रमुख बुनादेवी रिमालले आत्महत्या समाजको लागि गम्भित रोग भएकाले यसको उपचारका लागि सवै नगरपालिका तथा गाउँपालिकाहरु एकजुट भएर लाग्नुपर्ने र यसका लागि आफूले समेत पहल गर्ने बताईन ।
पालिकास्तरमा विभिन्न समिती वनाई कार्ययोजना बनाएर आत्महत्या रोकथामका लागि ठोस कार्यक्रमहरु संचालन गर्न सकिने उनको भनाई थियो ।
कार्यक्रममा लमजुङ जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रमेश आचार्यले आत्महत्याको प्रमुख कारण डिप्रेसन भएकाले डिप्रेसन भएका तथा लक्षण देखिएका विरामीको पहिचान गरी तत्काल काउन्सिलिङ तथा उपचार गर्नुपर्नेमा जोड दिए ।
लमजुङ जिल्ला अस्पतालमा सिमित मात्रमा भएपनि तालिमप्राप्त जनशक्ति भएकाले काउन्सिलिङ सेवा दिन सकिने उनकाे भनाई थियो ।
कार्यक्रममा आफ्नो भनाई राख्दै जिल्ला जनस्वास्थ्य कार्यालय लमजुङका निमित्त प्रमुख याम वरालले पालिकास्तरमा हुने आत्महत्या रोकथामका कार्यक्रममा आफ्नो कार्यालयले पूर्णरुपमा सहयोग गर्ने प्रतिवद्धता जनाए ।
कोसिस नेपाल सुन्दरबजारकी काउन्सिलर नविना आचार्यले आत्महत्या रोकथामका लागि नियमित रुपमा काम गर्दै आइरहेको र आगामी दिनमा समेत सवै पक्षसँगको सहकार्यमा काम गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा जिल्लास्थित नगरपालिका तथा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख, संघसंस्थाका प्रतिनिधी, संचारकर्मी, प्रहरी कर्मचारी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा आत्महत्या रोकथामसँग सम्बन्धित कार्यक्रम संचालनका लागि पालिकास्तरीय कार्ययोजना निर्माण गरी लागु गर्ने, संचारमाध्यमबाट आत्महत्या रोकथाम सम्बन्धि सामाग्री प्रसारण गर्ने लगायतका निर्णय समेत गरिएको छ ।
कार्यक्रमको सहजिकरण प्रहरी निरीक्षक बुद्धि प्रसाद सुवेदीले गरेको बताए ।


























प्रतिक्रिया लेख्नुहोस्:-