लमजुङ । मानव सेवा आश्रम लमजुङ शाखाको आयोजनामा यही श्रावण २७ गते बेसीशहर स्थित बरण्डा होटलमा एक दिवसीय आमा सेमिनार कार्यक्रम गर्ने भएको छ । उक्त कुरा बुधवार मानव सेवा आश्रमको हलमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी जानकारी गराइएको हो ।
२०८२ साल भित्र महयोगापेक्षी वा सडक आश्रित मानवमुक्त राष्ट्र निर्माण गर्ने लक्ष्य रहेको छ । उक्त लक्ष्य वा संकल्पलाई पूरा गर्न राष्ट्रव्यापी रुपमा मानवता प्रबद्र्धनको कार्यक्रम गरिने भएको छ । आमा सेमिनार कार्यक्रममा मानवता, राष्ट्रियता, परोपकार, आफुलाई जन्मदिने माता पिताको महत्वबोध गराई, प्रेम, सद्भाव, करुणा भाव मातृत्व प्रेम जस्ता मानवीय गुणहरू जनजनमा प्रबद्र्धन गर्ने उद्देश्य रहेको आश्रम प्रमुख अनिता अधिकारीले बताइन ।
उक्त आमा सेमिनार कार्यक्रममा तीन सय ५० जनाको सहभागिता गराइने भएको छ । यो कार्यक्रममा आफ्नै परिवारबाट पीडित भएर सडकमा आएका परिवारका सदस्यहरूलाई कसरी संरक्षण गर्ने, सडकपेटी एवं सार्वजनिक स्थलमा कष्टकर जीवन यापन गरिरहेकालाई कसरी उद्दार गरेर आश्रमसम्म पुर्याउने र परमपूज्य कर्म गर्ने जस्ता विषयमा मानव सेवा आश्रमको केन्द्रीय अध्यक्ष रामजी अधिकारीद्वारा प्रशिक्षण दिइने भएको छ ।
सो कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, युवा विद्यार्थी, आमा समुह, पत्रकार, लगायत संघसंस्थाका प्रतिनिधिहरूलाई सहभागी गराइने योजना रहेको प्रमुख अधिकारीले बताउनु भयो । कार्यक्रमको प्राविधि व्यवस्थापन मानवता अध्ययन केन्द्रले गर्ने भएको छ ।
निःशुल्क कार्यक्रम गरिने भएता पनि प्रवेश पास भने लिनुपर्ने बनाइएको छ । कार्यक्रमलाई सफल बनाउन मानव सेवा आश्रम सेवामा थप सरल र सहज भएर प्रस्तुत हुने बताइएको छ ।
साथै यो पून्य कर्म तथा सेवाकार्यलाई उर्जा पैदा गर्न सहभागीहरूले स्वेच्छिक रुपमा नगद वा जिन्सी सामग्री उपलब्ध गराउन सक्ने पनि बताइएकाे छ ।

























प्रतिक्रिया लेख्नुहोस्:-