पोखरा । झुटो विवरणका आधारमा नागरिकता लिएको आरोपमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादवमाथि प्रहरीले अनुसन्धान शुरू गरेको छ।

उपमेयर यादवसँग भारतीय नागरिकता रहेको र उनले कीर्ते गरी नेपाली नागरिकता पनि लिएको भन्दै जिल्ला प्रशासन कार्यालय, सप्तरीमा उजुरी परेको थियो। डाक्नेश्वरी नगरपालिका(४ का ३५ वर्षीय कृष्णकुमार यादवले उजुरी दिएका थिए।
आठ महीनासम्म जिल्ला प्रशासनले उजुरीमाथि सुनुवाइ नगरेपछि उनले राजविराज नगरपालिका(९ का ५७ वर्षीय परमेश्वर यादवमार्फत उच्च अदालत, जनकपुरमा रिट दायर गरेका थिए। जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकिलको कार्यालयलाई विपक्षी बनाएर दिएको रिटमा मुद्दा दर्ता गर्नका लागि आदेश माग गरिएको थियो।
उनको माग बमोजिम उच्च अदालतले आदेश दिएको हो। उच्च अदालत जनकपुरको राजविराज इजलासका न्यायाधीश हरिप्रसाद भण्डारीको इजलासले आदेश दिएको थियो।
उच्च अदालतको आदेशसँगै प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो। प्रहरीले पक्राउ पूर्जी जारी गरेपछि उपमेयर यादव प्रहरी कार्यालय पुगेकी थिइन्।
जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रमुख एवं प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीले पक्राउ पुर्जी जारी भएपछि उपमेयर आफै प्रहरी कार्यालयमा हाजिर भएको बताए। “पक्राउ पुर्जी जारी भएसँगै हामी खोजतलासमा जुटेका थियौं, बुधवार दिउँसो उपमेयर मीराज्यू उपस्थित हुनुभएको छ,” कार्कीले भने।
प्रतिक्रिया लेख्नुहोस्:-