पाेखरा । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा प्रहरीले ठगीमा प्रयोग भएको बिचौलिया सागर राईको गाडी पनि बरामद गरेको छ । शरणार्थी परिचयपत्र बनाउन भन्दै पीडितहरूको बायोमेट्रिक लिनेदेखि फोटो खिचाउनेलगायत काममा गाडी प्रयोग गरिएको थियो ।
अपराधमा प्रयोग भएको गाडी भएकाले प्रहरीले प्रमाणका लागि बरामद गरेको हो । त्यो गाडी राईले बिक्री गरिसकेका थिए । इम्बोस्ड नम्बर प्लेट राखेर नम्बर पनि परिवर्तन भएकाले गाडी खोज्न निकै मिहिनेत परेको प्रहरी अधिकारी बताउँछन् ।
नेपाली कांग्रेसका महासमिति सदस्य रहेका राई शनिश्चरे नगरपालिकाको वडा नम्बर १० का पूर्वअध्यक्ष हुन् । वडाध्यक्ष भएकै वेला स्थानीयलाई विश्वासमा पारेर उनले करोडौँ उठाएका थिए ।
अपराधमा प्रयोग भएको हज समितिका अध्यक्ष शमशेर मियाँको गाडी पनि बरामद भइसकेको छ । गृह मन्त्रालयको सोही गाडीमा पैसा ओसार्नेदेखि उनीहरूले पीडितलाई गृह मन्त्रालय नै खटिएको भनेर विश्वासमा पार्न विभिन्न ठाउँमा लगेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-