पाेखरा । नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै टीकापुर घटना राजनीतिक हिसाबले हल गर्नुपर्ने बताएका हुन् ।
टीकापुर आन्दोलन विशुद्ध राजनीतिक आन्दोलन भएको पनि नागरिक उन्मुक्ति पार्टीले जनाएको छ ।
पण्डितले जारी गरेको विज्ञप्तिमा भनिएको छ, त्यो आन्दोलन विशुद्ध राजनीतिक आन्दोलन भएकाले सम्मानित सर्वोच्च अदालतबाट (न्यायलय) भन्दा राजनीतिक हिसाबबाटै हल समाधान हुनुपर्थ्यो र पर्छ भन्ने धारणा नागरिक उन्मुक्ति पार्टीको हो ।
नागरिक उन्मुक्ति पार्टीले विगतमा थुप्रै घटनालाई राजनीतिक आन्दोलनका रूपमा लिइएको जनाएको छ ।
विज्ञप्तिमा अगाडि भनिएको छ, सीके राउत होस् वा विप्लव सबै राजनीतिक घटना मानेर सबैलाई मूलधारको राजनीतिमा ल्याएको छ । घटना किन राजनीतिक बनेन, अहिलेको सरकारले किन बनाउन चाहेन हाम्रो (नाउपाको) चिन्ताको विषय यहाँ हो ।
मंगलबारको सर्वोच्च अदालतको फैसला स्वीकार्य भए पनि राजनीतिक मुद्दा अदालती नभएको नागरिक उन्मुक्ति पार्टीको भनाइ छ । विज्ञप्तिमा भनिएको छ, आजका सबै राजनीतिक दलका शीर्ष नेतृत्वले आफ्नो विगत फर्केर हेर्न अनुरोध गर्दै टीकापुर घटना राजनीतिक घटना भएकाले राजनीतिक हिसाबले हल गर्न अनुरोध गर्छौं ।
मंगलबार सर्वोच्च अदालतले टीकापुर घटनामा रेशम चौधरीलाई जन्मकैदको सजाय हुने गरी कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले गरेको फैसलालाई सदर गरेको थियो ।
टीकापुरसहित मधेस आन्दोलनका क्रममा भएका ज्यादती र त्यसको सत्यतथ्य पत्ता लगाउन पूर्वन्यायाधीश गिरीशचन्द्र लाल अध्यक्षताको उच्चस्तरीय आयोगको प्रतिवेदन अझै सार्वजनिक भएको छैन ।
प्रतिक्रिया लेख्नुहोस्:-