काठमाडौं । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) स्थापनाको शताब्दी वर्षको अवसरमा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न जाने क्रममा नेपाल प्रहरी पहरा गण सामाखुशीमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपाली तथा आरोहण दलले शुक्रबार ६ हजार १ सय १९ मिटर उचाईको लोबुचे हिमाल सफलतापूर्वक आरोहण गरेको छ ।
सन् १९२३ मा इन्टरपोलको शताब्दी वर्ष भव्यताका साथ मनाउने योजना रहेकाे थियाे । इन्टरपोलको १००औं सदस्य राष्ट्र नेपालको तर्फबाट नेपाल प्रहरीको कर्मचारीले सर्वोच्च शिखर सगरमाथा आरोहण गरी चुचुरोमा नेपालको राष्ट्रिय झण्डा सहित नेपाल प्रहरी र इन्टरपोलको झन्डाहरू फहराउन आराेहण गरिएकाे हाे ।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले गत चैत ३० गते नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा आरोहणमा जान लागेका प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपालीलाई राष्ट्रिय झन्डा, नेपाल प्रहरीको झन्डा, इन्टरपोलको झन्डा एवम् आरोहणमा प्रयोग हुने सामग्रीहरू हस्तान्तरण गर्दै शुभकामनासहित विदाइ गरेका थिए ।
पहिलो पटक २०३१ सालमा प्रहरी कर्मचारीका ९ सदस्य टोलीले ६९२० मिटर उचाईको टुकुचे हिमाल सफलतापूर्वक आरोहण गरेको थियो । हिमाली भेगको सुरक्षाका निम्ति प्रहरी कर्मचारीलाई सक्षम बनाउने उदेश्यका साथ विसं २०३३ सालमा नेपाल प्रहरी पर्वतारोहण तथा साहसिक प्रतिष्ठान स्थापना भएपश्चात नेपाल प्रहरी कर्मचारीको २७ सदस्य टोलीले विसं २०३३ असोज १६ गते र नेपाल प्रहरी महिला दलको ३१ सदस्य टोलीले विसं २०४१ भदौ २६ गते ६११९ मिटर उचाईको लोबुचे हिमाल सफलातापूर्वक आरोहण गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-