पोखरा । सीमाक्षेत्र भोटेकोसी गाउँपालिका वडा नं ४ फुल्पिङ्कट्टीमा मंगलबार राती १४ घर चोरी भएको छ । ठूलो समुहमा आएको चोरले घरमा भएका सुनचाँदी, नगद र जिन्सी सामग्रीसमेत लुटपाट गरेका छन् ।
वडाध्यक्ष टासी शेर्पाले दिएको जानकारीअनुसार १४ घरबाट ११ तोला सुन र सात लाख ९० हजार नगद चोरी भएको छ । नारायणथान गाउँको शिरदेखि पुच्छरसम्म छानीछानी १४ घर चोरी भएको वडाध्यक्ष शेर्पाले बताए । घरमुली अन्यत्र गएको मौका छोपी घरको झ्यालढोका तोडेर चोरी भएको हो ।
गाउँको बीचमा सीमा सुरक्षा र गौरीशंकर संरक्षण क्षेत्रको रक्षार्थ प्रहरी सहायक निरीक्षकको कमाण्डमा जनपथ प्रहरी छ । तर, रातको १२ बजेदेखि तीन बजेसम्म चोरी भएको प्रहरीले बताएको छ । गाउँका मानिस धार्मिक कार्य र आफन्त भेट्न गएको मौका छोपेर चोरी भएको हो । चोरको समुहले बुद्ध धर्मका लामाले प्रयोग गर्ने मूल्यवान सामग्री पनि लगेका छन् । सबै घरमा चोरी भएको सामग्रीको विवरण प्रहरीले संकलन गरिरहेको छ ।
गाउँमा रहेको सिसी क्यामेरा फुटेजमा सेतो कपडा लगाएको मान्छे देखिए पनि अनुहार पुरै ढाकेको र पेसेबर समुह संलग्न रहेकोले प्रहरीले चोर पत्ता लगाउन सकेको छैन । ‘केस गम्भीर भएकोले अनुसन्धान गरिरहेका छौं,’ प्रहरी सहायक निरीक्षक नेत्र काफ्लेले भने । सीमा क्षेत्र भएकोले यस घटनालाई प्रहरीले गम्भीरतापूर्वक लिएको उनले बताए ।
चोरीको घटना दोहोरिन नदिन र लुटपाटमा संलग्न समुहलाई नियन्त्रण गर्न भोटेकोसीका जनप्रतिनिधि, प्रहरी रस्थानीयले संयुक्त रुपमा रातभर गस्ती गरिरहेका छन् । वडाध्यक्षहरुले स्थानीयलाई सचेत गराउन माइकिङसमेत गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-