म्याग्दी । अन्नपूर्ण हिमाल आरोहण गरी फर्कने क्रममा आयरल्याण्डका नागरिक ५६ वर्षीय नोयल हानाको मंगलबार मृत्यु भएको छ । अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित अन्नपूर्ण वेश क्याम्पको क्याम्प ३ बाट क्याम्प २ तर्फ फर्कने क्रममा चिप्लिएर लड्दा उनको मृत्यु भएको हो ।
नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय पर्यटन विभागबाट अन्नपूर्ण हिमाल आरोहणको लागि अनुमति लिई गत चैत ३ गते सेभेन समिट प्रालिबाट अन्नपूर्ण हिमाल आरोहणको लागि २५ जनाको टिम गएकोमा नोयल हानाको मृत्यु भएको, १ जना भारतीय नागरिक घाइते भएको र १ जना भारतीय नागरिक बेपत्ता भएका थिए ।
आरोहणमा गएका २१ जनालाई अल्टिटियुड एयर र हेलि एभरेष्टको हेलिकोपटरद्वारा सकुशल उद्धार गरिएको छ ।
घाइते भारतीय नागरिकको काठमाडौंस्थित सिविक अपस्तालमा उपचार भइरहेको छ भने बेपत्ता भएका १ जना भारतीय नागरिकको खोजी भइरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-