पोखरा । नारी शक्तिलाई केन्द्रमा राखेर बुनिएको नाटक ‘उर्वशी सूक्त’ मञ्चन शुक्रबार देखी सुरु भएको छ । पोखरा थिएटरको प्रस्तुतीमा तयार भएको यो नाटक नेपाली नयाँ वर्षको अवसरमा आगामी ११ गतेसम्म मञ्चन हुनेछ । पोखरा थिएटरको गन्धर्व नाटकघरमा सोमबार बाहेक हरेक दिन साँझ ५ बजे मञ्चन हुने नाटकको लेखन तथा निर्देशन शिव संकल्पले गरेका हुन् ।

शनिबार अतिरिक्त सो दिउँसो १ बजेपनि हुनेछ । विद्यार्थीलाई लक्षित गरेर अबदेखि सोमबार भने दिउँसो २ बजे नाटक मञ्चन गरिने पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जनाए । नाटक मञ्चनको सम्पूर्ण तयारी पुरा भएको उनले बताए । दर्शकलाई नयाँ स्वाद पस्कने अभिप्रायले निकै मेहनतका साथ नाटक मञ्चन गरिएको उनको भनाई छ ।
नाटकमा दील प्रसाद गुरुङ, रोशन तिमिल्सिना, सुशिल बराल, रोशन पोखरेल, रमेश बाबु तिमल्सिना, दीपसना विश्वकर्मा, रञ्जु दाहाल, एलिजा बुढाथोकी, धनकाजी श्रेष्ठ, अनुषा परियार, प्रियंका खड्का, राजेन्द्र अधिकारी, प्रतिक घिमिरेको अभिनय रहेको छ । मिलन गिरी, देवेन्द्र ढकाल विवेक, खेम लामाको प्रत्यक्ष संगीत नाटकमा रहनेछ भने यो पाटोलाई थप आर्कषक बनाउन सोनिया कार्की खत्री र पासाङ ल्यामू शेर्पाले अभिनय गरेका छन् ।
नाटकमा शास्त्रीय संगीत, शास्त्रीय नृत्य, केही शास्त्रीय छन्दको प्रयोग गरिएको छ । वेषभुषामा समेत सांस्कृतिक र शास्त्रीयताको समिश्रण गरेर देखाउने खोजिएको निर्देशक संकल्पले जनाए । यो नाटकबाट पूर्विय र परम्परागत नाट्यशैलीको झलक दिन खोजेको उनले खुलाए ।
झण्डै डेढ घण्टा अवधिको नाटक हेर्न सर्वसाधरणले पाँच सय र तीन सय रुपैयाँको टिकट काट्नुपर्नेछ । विद्यार्थीले भने दुई सय रुपैयाँको टिकट काट्न सक्नेछन् । नाटकलाई सुन्दर बनाउन नाट्य युनिटले निकै मेहनत गरिरहेका छन् । झण्डै एक महिनाको रिहर्सल पश्चात तयार भएको नाटकले दर्शकको माया बटुल्ने उनीहरुको विश्वास छ ।
प्रतिक्रिया लेख्नुहोस्:-