पााेखरा। चैत ११ गते पोखरा महानगरपालिकाले पोखरा २४ पामेबाट दुई टिपर र एक स्काभेटरलाई नियन्त्रणमा लियो । टिपरलाई महानगरले आफ्नै साथमा ल्यायो भने स्काभेटरको चाबि थुत्यो । पोखरा २३ र २४ का अधिकांश भू–भाग सिमसार क्षेत्रमा पर्छ । पोखरा २४ पामेमा सिमसार क्षेत्र पुरेको भन्दै महानगरले एक्सन लिएको थियो । तर महानगरले जुन क्षेत्र पुर्दै गर्दा नियन्त्रणमा लिएको थियो त्यो क्षेत्र भने महानगरले आवास क्षेत्र भनि घोषणा गरिसकेको क्षेत्र रहेको खुलेको छ । आवास क्षेत्र घोषणा गरी सकेको ठाउँमा महानगरले एक्सन लिनु अन्याय भएको स्थानीयहरुले बताएका छन् ।
स्थानीयहरुले आवास क्षेत्रमा रहेको आफ्नो जग्गा पुर्दा महानगरले मनलाग्दी गरेको आरोप लगाएका छन् । उनीहरुले पहिला आवास क्षेत्र घोषणा गरेको र अहिले आएर सिमसार क्षेत्र भन्दै कारवाहि गर्नु गलत रहेको बताएका छन । जग्गा धनी टेक प्रसाद तिमिल्सिनाले आफ्नो जग्गा संरक्षण गर्न खोज्दा महानगरले लाद्ने काम गरेको बताए ।
उनले आफ्नो जग्गा आवास क्षेत्रमा रहेपनि महानगरले बनाएको बाटोको कारण जग्गामा पानीको ढाब हुन थालेपछि संरक्षणका लागि पुर्ने काम गरेको बताए । राज्यलाई कर तिर्दै आएपनि जग्गा संरक्षण गर्न नपाएको उनको भनाइ छ । सडक निर्माण पश्चात आफुहरुको क्षेत्रमा पिच नगरेको र सडकमा पानीको निकास नहुँदा जग्गा नै बेकामको हुने स्थिति आएको उनले सुनाए ।
‘पहिला खेती हुने जग्गामा अहिले पानी मात्रै जम्न थाल्यो । यहाँ मैले खेति पनि गर्न पाइन । सडकमा पानी जानका लागि कल्भट बनाउनु पर्ने ठाउँमा हिमपाइप राखेको छ । जसले गर्दा पुरै पानी मेरो जग्गामा जम्मा भएको छ’ उनले भने, ‘हिमपाइप फुटेका कारण पानी निकासी भएको छैन् । हामीलाई पैसा धेरै भएर फालेका होइनौ पुर्न बाध्य भएका हौं ।’ जग्गा सदुपयोग गर्न नपाएको र पुर्न नदिनु अन्याय भएको र पुर्न नपाए महानगरले निकास दिनुपर्ने बताए ।
यस्तै अर्का जग्गा धनीले आवास क्षेत्र घोषणा गरिसकेपछि पनि सिमसार भन्दै अवरोध गर्नुको पछाडी कुनै षडयन्त्र भएको हुन सक्ने भन्दै आशंका व्यक्त गरे । ‘यो आवास क्षेत्र हो । त्यसै मुखले सिमसार क्षेत्र भनेर हुन्छ ? यथार्थमा जानुपर्छ । उनीहरुको के के छ, केके भन्छन्’ उनले भने, ‘यहाँ केहि स्वार्थ राखेको मैले देख्छु । पानी जमेपछि हामीले खेती गर्नै पाएनौं खेती गर्नका लागि पनि हामीलाई पुर्नुपर्ने स्थिति छ ।’
सिमसारलाई आवास क्षेत्र घोषणा गर्नु मिल्दैन ः महानगर प्रवक्ता
उता पोखरा महानगरपालिकाका प्रवक्ता मोतिप्रसाद तिमिल्सिनाले सिमसार क्षेत्रलाई आवास क्षेत्र घोषणा गर्न नमिल्ने बताए । उनले पोखरा महानगरपालिकाले पहिलो पटक भू वर्गिकरण गरेको र त्यसमा केहि त्रुटि भएकाले समस्या आएको हुन सक्ने समेत बताए । उनका अनुसार आवास क्षेत्रमा जग्गाधनीले घर निर्माण गर्न पाउने अधिकार रहेको छ । ‘बस्तिदेखी सय मिटर सम्मको क्षेत्रलाई आवास क्षेत्र घोषणा गर्न पाइन्छ तर सिमसार क्षेत्र हो भने आवास क्षेत्र घोषणा गर्न पाइदैन त्यहा त्रुटि भएको हुन सक्छ’ उनले भने, ‘महानगर सिमसारको विषयमा कडाइका साथ लाग्ने छ ।
सिमसार क्षेत्र जोगाउनु राज्यका दायित्व हो भने त्यहा भएका जग्गा धनीलाई सम्बोधन गर्नु पनि हाम्रो दायित्व हो । राज्यले मुआब्जा दिएरै भएपनि सिमसार क्षेत्र संरक्षण गर्नुपर्छ ।’ उनले सिमसार क्षेत्र पुरेका कारण कारवाहि गरेका सवारीका धनी नआएको कारण कारवाहिको प्रक्रिया अघि बढ्न नसकेको बताए । उनका अनुसार उक्त स्थान पुर्नका लागि वडाले सिफारिस गरेपनि महानगरपालिकाले भने कुनै अनुमति दिएको छैन् । तर उक्त जग्गा पुर्ने अनुमति भने महानगरले दिएको भेटिएको छ । ‘वडाले डोजर लगाउने अनुमति दिन पाउँदैन् । वडाले महानगरमा सिफारिस गर्ने हो । अनुमति दिने वा नदिने भन्ने काम महानगरपालिकाको हो । तर यहाँ महानगरपालिकाले अनुमति दिएको छैन्’ उनले भने,‘ वडाकै सिफारिसले काम गरेको हुन सक्छ । हामी कारवाहि गर्छौ ।’
प्रतिक्रिया लेख्नुहोस्:-