लमजुङ । लमजुङ अस्पतालमा नवनिर्मित ल्याव भवन र नयाँ थाइराइड मेशिन सोमवार उद्घाटन गरिएको छ । नेकपा(माओवादी केन्द्र)का महासचिव देव प्रसाद गुरुङले उक्त भवन र मेशिनको उद्घाटन गरे ।
नेता गुरुङले लमजुङ अस्पतालको सेवा बृद्धिका लागि आफु र आफ्नो पार्टी सदैव लागिरहने बताउँदै अबका दिनमा सुविधा सम्पन्न भवन सहित नर्सिङ शिक्षा समेत सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताए । यस अघि थाइराइड चेकजाँचका लागि लमजुङ अस्पतालमा आएका विरामीलाई मेशिन नभएका कारण अन्यत्र पठाउनु परेको थियो ।

लमजुङमा धेरै विरामी थाइराइड जाँच गर्नका लागि आउने गरेको र यहाँ उक्त मेशिन नहुँदा विरामी पनि धेरै खर्च गरेर अन्यत्र जानुपर्ने बाध्यतालाई मध्यनजर गरेर ७० लाख रुपैयाँ लागतमा अस्पतालको आन्तरिक आम्दानीबाट ल्याइएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हरिजङ तामाङले बताए ।
लमजुङ अस्पतालमा ल्यावका लागि चाहिने सबै मेशिन नहुँदा विरामीले सास्ती भोग्नु परेको थियो । अब सबै प्रकारका ल्याव जाँचका लागि यस अस्पतालमै सेवा उपलब्ध गराउने उद्देश्यका साथ अस्पताल प्रशासन र व्यवस्थापन समिति अहोरात्र खटिरहेको मेडिकल सुपरीडेन्टमेन्ट डा रमेश आचार्यले बताए । झण्डै २१ वर्षसम्म एच.डि.सि.एसले सञ्चालन गरेर यस अस्पताल मार्फत सेवा गरेको थियो । गण्डकी प्रदेश सरकारले विगत ४ महिना अघि मात्रै आफ्नै स्वामित्वमा लिएको हो ।
छोटो औपचारिकता दिइएको उक्त कार्यक्रममा गण्डकी प्रदेशका पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी, संविधान सभा सदस्य लाल बहादुर गुरुङ, व्यवस्थापन समितिका अध्यक्ष हरिजंङ तामाङ, मेसु डा रमेश आचार्य, डाक्टरहरू, ल्यावका लगायत अस्पतालका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-