पोखरा। १० वैशाखमा हुने उपनिर्वाचनमा तनहुँ १ मा एमालेबाट पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल उम्मेदवार बन्ने चर्चा सुरु भएको छ। अहिले तनहुँमा रहेका खनालले क्षेत्रीय समन्वय कमिटीमा आवेदन पेस गरेका छन्। यद्यपी उनी उठ्ने नउठ्ने निर्णय भइसकेको छैन।

उनको नाम क्षेत्रीय समन्वय कमिटीले जिल्लामा पठाएको छ। सो नाममा जिल्लाले रायसहित प्रदेश र प्रदेशबाट केन्द्रमा सिफारिस हुने एमाले जिल्ला उपसचिव तथा प्रचार विभाग प्रमुख प्रदीप अधिकारीले जानकारी दिए।
यसअघि त्यहाँ एमाले स्थायी कमिटी सदस्य किरण गुरुङ आकाङ्क्षी थिए। तनहुँ–२ मा कांग्रेसका शंकर भण्डारीसँग पराजित भएका गुरुङ उम्मेदवार नहुने बताएपछि खनालको चर्चा सूरु भएको हो।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति भएपछि खाली रहेको सो क्षेत्रमा उप चुनाव हुन लागेको हो। कांग्रेसले नेता गोविन्द भट्टराईको नाम टुङ्गो लगाएको छ। बिहीबारै कांग्रेस परित्याग गरेका अर्थविद् स्वर्णिम वाग्ले पनि उम्मेदवार बन्ने चर्चा छ। उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्ने चर्चा सुरु भएको छ।
एमालेबाट उठ्ने आँकाक्षा राखेका खनाल मंसिरमा भएको निर्वाचनमा पराजित उम्मेदवार हुन्। व्यास नगरपालिका–११ तनहुँसुर जन्मथलो भएका खनालको ४ मंसिरको चुनावमा काठमाडौं ६ बाट उठेका थिए। त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले जितेका थिए।
यस्तै सो क्षेत्रामा एमालेबाट पूर्वआईजीपी खनालसहित ६ जनाको नाम सिफारिस भएको छ। बिहीबार बसेको क्षेत्रीय कमिटीको बैठकले चुनाव लड्न आकांक्षा व्यक्त गरेका पूर्वआईजीपीसहित रामबहादुर गुरुङ, मोहन विक, परितोष पौडेल, किरण धिताल र सोझा गुरुङको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो।
प्रतिक्रिया लेख्नुहोस्:-