मोरङ । विराटनगर महानगरपालिका २ स्थित तुलसी (बहुमुखी) बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट रकम ठगी भएको घटनामा संलग्न उक्त सहकारी संस्थाका क्षेत्रीय प्रबन्धकसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा क्षेत्रिय प्रबन्धक विराटनगर महानगरपालिका २ बस्ने मन्दिप खवास, संस्थाको उपाध्यक्ष उर्लाबारी नगरपालिका ६ घर भएकी अनिता गौतम र संस्थाको सचिव झापा भद्रपुर नगरपालिका १४ घर भई हाल विराटनगर महानगरपालिका ३ बस्ने सविना न्यौपाने रहेका छन् ।
२०५२ सालमा स्थापना भएको उक्त संस्थाको मुख्य कार्यालय विराटनगर महानगरपालिका २ मा रहेको र यही फागुन १ गतेदेखि सेयर सदस्यहरुलाई कुनै जानकारी नदिई कार्यालय बन्द गरी ठगी गरेको भनि सेयर सदस्यहरुले दिएको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।
उक्त संस्थाले बाल बचतरज्येष्ठ नागरिक बचतरभविष्य सुनिश्चित बचतर सुपर पेन्सन बचतर अवधि बचतर कर्मचारी चल्ती बचतरविशेष बचतर साधारण बचत लगायत खाताहरूमा बचत गर्दा तथा संस्थाको शेयर सदस्य हुँदा १५ प्रतिशत भन्दा बढी व्याज, बोनस लगायतका आकर्षक आर्थिक सुविधा पाउने आश्वासन र प्रलोभनमा पारी बचत गर्न लगाएको र आफ्नो तथा बालबच्चासहित परिवारका अन्य सदस्यहरूको सुरक्षित भविष्यको आशामा बचतकर्ताहरूले ठुलो रकम बचत गर्दै आएकोमा फागुन १ गतेदेखि कार्यालय बन्द गरी सञ्चालक समितिका सबै पदाधिकारीहरू सम्पर्क विहीन भएका थिए ।
सञ्चालकहरु नै फरार भए पश्चात आफूहरु ठगीमा परेको थाहा पाई फागुन २८ गते केही बचत कर्ताहरुले १२ करोड ९ लाख ४ हजार ४ सय ८७ रूपैया बराबरको रकम ठगी भएको भनि संस्थामा कार्यरत ८ जनाको बिरुद्धमा जाहेरी दिएको र सोही जाहेरीको आधारमा ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । घटनामा संलग्न अन्य ५ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-