पोखरा । पोखरा महानगरपालिकाको रोकेको काम जबरजस्ती गरेका अशोक पालिखेलाई काम रोक्न मेयर धनराज आचार्यले निर्देशन दिएका छन् ।
बुधबार फिर्के खोलामा मापदण्ड विपरित ग्याबिन भर्ने काम गर्दै आएका पोखराका व्यापारी अशोक पालिखेलाई नगरप्रहरीले काम रोक्न भन्दै छाडेका थिए ।
तर नगरप्रहरी गएपछि अटेरी गर्दै पालिखेले पुनः तारजाली लगाउने काम गरेका थिए । दोस्रो पटक समेत नगरप्रहरी पुगेर काम रोकेका थिए ।
उक्त स्थानको अनुगमन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले काम तत्कालै रोकी सामान त्यहाँबाट हटाउन निर्देशन दिएका छन् । उनले फिर्के खोलामा त्यसरी व्यक्तिले काम गर्न नपाउने भन्दै तिनदिन भित्र नहटाए महानगर आफै पुगेर हटाउने बताए । ‘यहाँ गलत काम भइरहेको छ ।
गलत गर्ने जो कोहिलाई पनि हामी छाड्ने वाला छैनौं । महानगर बनाउने सन्दर्भमा कुनै कम्पर्माइज हुँदैन’ मेयर आचार्यले भने, ‘फिर्के अतिक्रमणका लागि हामी लाग्नेछौं । यहाँमात्र होइन फिर्के खोलाको मापदण्डमा पर्ने कुनेपनि स्थानमा अतिक्रमण हुन दिने छैनौं ।’
उता महानगरका एक कर्मचारी स्रोतले पोखरामा ठूला र धनाढ्य व्यक्तिहरुलाई रोक्ने सामथ्र्य नरहेको सुनाए । ‘फिर्के अतिक्रमण हिजो देखी भइरहेको छ ।
तर रोक्ने कस्ले ? हामीले सक्दैनौ यहाँ त ठूलावडा र हुनेवालाको मात्रै चल्छ’ स्रोतले भने,‘यदि महानगरले फिर्के प्रति चासो देखाएको भए त केहि नीति नियम बनाउथ्यो होला नि तर त्यसो हुँदैन् ।’
आठ किलोमिटर लम्बाई रहेको फिर्केको १५ मिटरदेखि ५ मिटरसम्मको फरकफरक चौडाइ छ । फिर्के अतिक्रमण प्रति राज्य निरीह देखिएको नागरिक समाजका अध्यक्ष रामबहादुर पौडेलले बताए ।
उनका अनुसार फिर्के अतिक्रमण नरोकिने हो भने फिर्केखोला नै लोप हुने खतरा देखिन्छ । आफ्नो जग्गाको संरक्षण गर्ने नाममा भूमाफियाले खोला अतिक्रमण गरि खोलाको बिच भागबाटै तटबन्ध लगाउने काम भएको पौडेलको भनाइ छ ।
अँधेरी कुनादेखि फेवातलसम्मै फिर्के खोलाको मापदण्ड मिचिएर झण्डै २ सय संरचना बनेका छन् । फिर्केमा बनेका संरचनामा सरकारी एव गैह्रसरकारी संघ संस्था देखि नामि व्यक्ति समेत छन् ।
निवेदन नदिनु मेरो गल्ति हो : पालिखे
उता पालिखेले भने महानगरको प्रहरी विहान नभई दुई तिन बजेको समयमा आएको बताए । उनले आफ्नो जग्गा जोगाउनका लागि ग्याविन भर्ने काम गरेको बताए । ‘मैले निवेदन संगै राखेको छु । बिचमा बढी सरकारी विदा भयो ।
अनुमति नलिनु मेरो गल्ति हो’ उनले भने,‘तर मैले मेरो जग्गा जोगाउनका लागि यो गरेको हुँ ।’ उनको यो कुराले पनि उनले गुपचुप तरिकाले नै काम अघि बढाएको स्पष्ट हुन्छ ।
उनले महानगरले थाहापाएपछि मात्रै आफुले गल्ति गरेको स्विकार गरेका छन् । यस अघि भने उनले धमाधम खाल्डो खनि ग्याविन भर्ने काम गरेका थिए । उनले एक हप्तादेखी काम सुरु गरेका हुन् । एक हप्तासम्म समेत उनले कुनै अनुमति नलिनुले अतिक्रमण गर्न लागेको स्पष्ट देखिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-