अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट ९एमसिसी० सम्झौता खारेजको माग गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित आठवटा राजनीतिक दलहरूसहितको मोर्चाले मंगलबार राजधानीमा संयुक्त विरोध प्रदर्शन गरेका छन् । यसअघि २८ मंसिरमा प्रतिनिधिसभा बैठक बसेको दिन संघीय संसद् घेराउको कार्यक्रम गरेको मोर्चाले मंगलबार माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेको हो ।
प्रदर्शनपछि आयोजित कोणसभामा नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलले एमसिसी नेपालीका लागि एउटा धोका भएको बताए । ‘विकास निर्माणका नाममा आउने रकमको नाममा अमेरिकाले सुरक्षा रणनीति भित्र्याउन चाहेको छ । यो नेपालीका लागि एउटा धोका हो । एमसिसी सम्झौता खारेज नभएसम्म आन्दोलन जारी रहनेछ,’ गजुरेलले भने । उनले एमसिसी पास भए नेपाल रणभूमिमा परिणत हुने भन्दै अमेरिकाको पैसा खाएर आश्वासनमा बिकेकाले सम्झौता पास गर्न खोजेको आरोप लगाए ।
नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला कञ्चनले नेपालमा एमसिसी कुनै पनि हालतमा लागू गर्न नहुने बताए । ‘यो योजनाअन्तर्गत आउन लागिएको रकम अनुदान होइन । यो त अमेरिकाको लगानी हो । जुन इन्डो–प्यासिफिक रणनीतिअन्तर्गतको बजेटबाट खर्च हुन्छ,’ विरोधसभालाई सम्बोधन गर्दै उनले भने, ‘सैन्य रणनीतिको बजेटले बन्न लागेको परियोजना विशुद्ध सहयोग हो भन्न सकिँदैन । त्यसैले समयमै यसलाई फिर्ता पठायो भने देशको हितमा हुन्छ।’
मालेका महासचिव एवं पूर्वउपप्रधानमन्त्री सिपी मैनालीले एमसिसी अनुदान नहुने दाबी गरे । उनले कुनै पनि अनुदान संसद्बाट पास गर्नु नपर्ने र एमसिसी प्रचार गरिएअनुसार अहिले नआएकोसमेत बताए । महासचिव मैनालीले एमसिसीमार्फत अमेरिकाले नेपाललाई सैन्य रणनीतिभित्र पारेर चीनसँग लड्नका लागि नेपाललाई अखडाका रूपमा प्रयोग गर्न चाहेकोसमेत बताए । उनले ५० करोड डलरमा नेपालको स्वाधीनता बिक्री गर्न नदिने बताए ।
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक विश्वभक्त दुलाल आहुतीले संसद्वादी दलमा पनि देशभक्त नेताहरू भएकाले सहजै एमसिसी पास हुन नसकेको बताए । उनले केही पार्टीहरू फुटबाट आएकाले आगामी चुनावलाई मध्यनजर गरेर एमसिसीको पक्षमा पहिलेजति हौसिन छोडेको बताए ।



























प्रतिक्रिया लेख्नुहोस्:-