गण्डकी १५ मंसीर : गुणस्तरीय विकाससंगै सभ्यसमाज निर्माणमा स्थानीय समुदायको महत्वपूर्ण भूमिका हुनेमा आज यहाँ आयोजित एक कार्यक्रममा जोड दिइएको छ ।
पोखरा महानगरपालिका वडा नं. १७ घारीपाटनस्थित म्यूजियममार्ग टोल सुधार समितिद्धारा आयोजित भेलामा बक्ताहरुले लक्षित योजना तथा कार्यक्रम समयमै सम्पन्न गर्न स्थानीयको जागरुकता अपरिहार्य हुने बताए ।
पोखरा महानगरपालिका कार्यपालिका सदस्य राधिका शाही योगीले भेलाको उद्घाटन गर्दै सामाजिक संघसंस्थाले सुसुप्त अवस्थामा रहेको श्रमलाई उत्पादनको क्षेत्रमा लगाउनु पर्ने बताउनुभयो ।
महानगरले बिशेष गरि सडक, खानेपानी, शिक्षा, स्वास्थ्य तथा ढल निर्माणलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताउँदै उहाँले सिमीत श्रोत साधनको बाबजुद पनि वडाको समग्र विकासमा निर्माणमा उपयोग कर्ता स्थानीय वासिन्दा सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
खानेपानी उपभोक्ता समिति पोखरा १७ का अध्यक्ष कृष्णप्रसाद पौडेलले तीनै तहका सरकारको सहयोगमा वडामा ४५ किलोमिटर पाईप विस्तार गरिएको र साढे अठ्ठार किलोमिटर क्षेत्रमा पाईप विस्तार गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
पोखराको ठूलो र सवै भन्दा बढी जनघनत्व रहेको यस वडाको खानेपानीको पाईप विस्तारका लागि पोखरा महानगरपालिकाबाट ८५ लाख, स्वर्गीय रविन्द्र अधिकारीको पहलमा ३४ लाख र प्रदेश सभा सदस्य कृष्ण थापाबाट ५० लाख रुपैया आर्थिक सहयोग प्राप्त भएको उहाँले जानकारी दिनुभयो ।
२०५१ सालमा विस्तार गरिएको जिर्ण अवस्थाको दुई इञ्चिको पाईपबाट खानेपानीको असुविधा झेल्दै आएका सो मार्गमा प्रदेश सभा सदस्य कृष्ण थापाको १० लाख रुपैयाको सहयोगमा तीन इञ्चिको पाईप विस्तार गरिएको टोल सुधार समितिका अध्यक्ष हरिप्रसाद बास्तोलाले जानकारी दिनुभयो ।
प्रतिक्रिया लेख्नुहोस्:-