पोखरा ११ कात्तिक । प्रेस सेन्टर नेपाल कास्कीको अधिवेशन यही कात्तिक १७ गते पोखरामा हुने भएको छ । सेन्टरको आज बसेको केन्द्रीय सदस्य सहित कास्कीको पदाधिकारी बैठकले सम्मेलनको मिति तय गरेको छ।
नेकपा माओवादी केन्द्रका स्थायी कमिटीका सदस्य एवं संघीय सरकारका शिक्षा संस्कृति तथा विज्ञान प्रविधिमन्त्री देवेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा अधिवेशनको उद्घाटन गरिने प्रेस सेन्टर कास्कीका संयोजक सन्देश श्रेष्ठले जानकारी दिए । अधिवेशनको तयारी स्वरुप नयाँ सदस्यता वितरण र नविकरणको कामलाई तीव्रता दिइएको छ ।
यसैगरी प्रचारप्रसार, अतिथि सत्कार, आर्थिक लगायतका उपसमिति गठन गरी सम्मेलनको काम अघि बढाइएको संयोजक श्रेष्ठले जानकारी दिए ।
बैठकमा प्रेस सेन्टरका गण्डकी प्रदेश इन्चार्ज एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलले गौरवपूर्ण इतिहास बोकेको प्रेस सेन्टरलाई आगामी अधिवेशनबाट आउने नेतृत्वले नयाँ उचाई पुर्याउने विश्वास व्यक्त गरे । अधिवेशन भव्य र सभ्य रुपमा सम्पन्न गर्न आफ्नो तथा प्रदेश कमिटीको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता उनले व्यक्त गरे ।
नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीका अध्यक्ष विश्वप्रकाश लामिछानेले प्रेस सेन्टरले संगठन विस्तारमा जोड दिनुपर्ने बताए ।
बैठकमा प्रेस सेन्टर गण्डकी प्रदेशका सहइन्चार्ज माधव पनेरु,केन्द्रीय सदस्यहरु रामप्रसाद तिमिल्सिना, राधिका कँडेल लगायतलको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-