विराटनगर २० असोज । भारतबाट नेपालतिर मानव खप्पर एवं हड्डीको तस्करी भइरहेको पाइएको छ। सशस्त्र प्रहरीले विराटनगरबाट बरामद गरेको वस्तु मानव खप्पर एवं खुट्टा र हातको नली हड्डी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।
सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलका अनुसार विराटनगर महानगरपालिका–१५ बाट सोमबार राति खप्परजस्तो देखिने २८ पिस र नली खुट्टा एवं हातको हड्डीजस्तो देखिने वस्तु १० पिस बरामद गरिएको छ। भारतको जोगवनीबाट नेपाल प्रवेश गरेको को २ च ९६४८ नम्बरको मारुती भेनलाई विराटनगर भन्सार कार्यालयको २ नम्बर ढाटमा रोकेर चेकजाँच गरिएको उनले बताए।
सशस्त्रले चेकजाँच सुरु गरेपछि भेनका चालक निस्किएर भागेका थिए। सशस्त्रले बरामद गरेको वस्तु कछुवाको ढाडको हड्डी र वन्यजन्तुको नली खुट्टा भएको अनुमान गरिएको थियो। यस विषयमा जाँचबुझ गर्न वन्यजन्तु विज्ञ, चिकित्सक, वनका कर्मचारी र प्रहरीको संयुक्त टोली खटियो। प्रारम्भिक अनुसन्धानबाट उक्त वस्तु वन्यजन्तुको अंग नभएको निस्कर्ष निकालिएको हो।
डिभिजन वन कार्यालय मोरङका सहायक वन अधिकृत परमेश्वर पासवानले बरामद भएको वस्तु वन्यजन्तुको अंगसँग नमिल्ने बताए। ‘हेराइका आधारमा बरामद भएको वस्तु वन्यजन्तुको अंग हैन। मानव शरीरमा भएका अंगसँग मिल्दोजुल्दो छ,’ उनले भने, ‘थप अनुन्धानपछि मात्रै यस विषयमा यकिन हुन्छ। तर उक्त वस्तु मान्छेको खप्पर र खुट्टा एवं हातको नली हड्डीजस्तो देखिन्छ।’
सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी कमल गिरीका अनुसार थप अनुसन्धान गरेर यथार्थ पत्ता लगाउन बरामद गरिएको वस्तु नेपाल प्रहरीको जिम्मा लगाइएको छ। नेपाल प्रहरीको अनुसन्धानपछि उक्त वस्तुको यकिन हुने बताउँदै उनले प्रारम्भिक अनुसन्धानबाट भने मानव खप्पर र मान्छेकै खुट्टा एवं हातको नली हड्डी भएको निस्कर्ष निकालिएको जानकारी दिए।
‘सुरुमा वन्यजन्तुका अंग हो कि भन्ने अनुमान गरियो थियो। विज्ञहरुले वन्यजन्तुको हैन भनेपछि मानव अंग नै भएको निस्कर्ष निकालिएको छ,’ गिरीले भने, ‘परीक्षणपछि पहिचान हुन्छ। त्यसको प्रक्रिया नेपाल प्रहरीले अघि बढाइसकेको छ।’ तर यस घटनाले भारतबाट नेपाल र नेपालबाट भारततिर विभिन्न वस्तुको तस्करी भइरहेको पुष्टि हुने उनले बताए। अवैध धन्दा नियन्त्रणका लागि नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्रको विशेष टोली परिचालित रहेको डीआईजी गिरीले बताए।
उनका अनुसार सीमा क्षेत्रबाट आवतजावत गर्ने मानिस र सवारी साधनमाथिको चेकजाँच तीव्र बनाइएको छ। ‘सीमा क्षेत्रबाट यस्ता वस्तु बरामद हुनु निक्कै गम्भीर विषय हो,’ डीआईजी गिरी भन्छन्, ‘त्यही भएकाले निगरानी बढाएर उच्च सतर्कता अपनाउँदै कडाई गर्न थालिएको छ।’
मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीले उक्त वस्तु परीक्षणका लागि फरेन्सिक ल्याबमा पठाउने तयारी भइरहेको जानकारी दिए। ल्याब परीक्षणको रिपोर्ट प्राप्त भएपछि उक्त वस्तुका बारेमा पुष्टि हुने उनको भनाइ छ। उनका अनुसार मानव खप्परजस्तो देखिने वस्तुलाई भने काटेर बटुका एवं कचौराको जस्तो आकार दिइएको छ।
प्रहरीले भेनका चालक विराटनगर महानगरपालिका–१७ का विनोद राय र झापाको दमक नगरपालिका–५ का ४३ वर्षीय युवराज कार्कीलाई बुधबार बिहान नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ। तर प्रहरीले सोधपुछ गर्दा उनीहरुले उक्त वस्तु कहाँबाट ल्याएको र कसको हो भनेर नबताएको एसपी जीसीले जनाए।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट भारतबाट ल्याएर काठमाडौं लैजान खोजिएको पाइएको छ। चीनतर्फ लैजान खोजिएको पनि हुनसक्ने प्रहरी अधिकारी बताउँछन्। विस्तृत अनुसन्धानपछि थप विषय प्रष्ट हुने प्रहरीको भनाइ छ। एसपी जीसीले केमा प्रयोग गर्नलाई मावन खप्पर र हड्डीको तस्करी गरिन्छ भन्ने यकिन नभएको बताए। उनका अनुसार बरामद गरिएको वस्तु कति पुरानो होभन्ने पनि खुल्न बाँकी छ। तर विगतका केही घटनाबाट भने मानव खप्पर र हड्डीको तस्करी हुने गरेको पुष्टि भइसकेको छ। मान्छे मरेपछि जातीय परम्परा अनुसार दाहसंस्कार गरिन्छ। कतिपय जातजातिले शवलाई आगोमा जलाएर नष्ट गर्छन् भने कतिपयको जमिनमा गाडेर अन्त्येष्टि गर्ने परम्परा छ।
प्रतिक्रिया लेख्नुहोस्:-