पोखरा,१३ असोज । पोखरा रंगशालामा जारी राष्ट्रिय ए डिभिजन फुटसल प्रतियोगितामा घरेलुटोली स्पोट्र्स क्यासल शिर्षस्थानमा कायमै रहेको छ ।
बुधवार बहुउदेश्यीय कभर्डहल (फुटसल कोर्ट) मा सम्पन्न खेलमा तालिकाको पुछारमा रहेको झरना स्पोट्र्स क्लबलाई ५–१ गोल अन्तरले हराउँदै शिर्षस्थानमा यथावत रहन सफल भएको हो ।
क्यासलको जितमा खिमराज गुरुङले दुई तथा विजय गुरुङ, विशोन गुरुङ र किशोर गुरुङले समान एक÷एक गोल गरे । क्यासलले खेलका पाँचौ मिनेटमै अग्रता लियो । विजय गुरुङले क्यासललाई अग्रता दिलाए ।
यस्तै १४ औं मिनेटमा खिमराजले गोल गरे । १५ औँ मिनेटमा विशोन गुरुङले गोल गर्दै अग्रता तेब्बर पारे । किशोर गुरुङले खेलको १६ औं मिनेटमा तथा खिमराजले १८ औं मिनेटमा गोल गरे ।
क्यासलले दोस्रो हाफमा भने कुनैपनि गोल गर्न सकेन् । झरनाका लागि नारायण थापा मगरले २९ औं मिनेटमा गोल गरे । कुल ६ खेल खेलेको क्यासलको १६ अंक रहेको छ भने समान खेल खेलको झरना अंक विहिन छ ।
बुधवार सम्पन्न पहिलो खेलमा शंखमुल फुटसलले लुम्बिनी फुटसललाई ३–२ गोलले हराउँदै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । शंखमुलको ६ खेलबाट १४ अंक रहेको छ । शंखमुलले खेलको सुरुवातदेखिनै लुम्बिनीलाई दबाबमा राख्यो ।
शंखमुलको जितमा विवेक पण्डितले ८ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । त्यसको १ मिनेटमा लुम्बिनीका लागि रुपेन बराइलीले बराबरी गोल फर्काए । १३ औं मिनेटमा पुन शंखमुलले अग्रता लियो ।
क्रिजल खड्काले गोल गर्दै पुनः अग्रता दिलाए । ३० औं मिनेटमा सागर तेन्जेले अग्रता तेब्बर पारे । खेलमो ४० औँ मिनेटमा लुम्बिनीका रेफी महर्जनले गोल गरेपनि जितका लागि समय पर्याप्त रहन भने सकेन् ।
लुम्बिनीको ६ खेलबाट ४ अंक रहेको छ । बुधबारको अन्तिम खेलमा मछिन्द्र स्काइ गोल्सले प्रभातफेरी युथ क्लबलाई ४–३ गोलले हराउँदै तालिकाको छैटौँ स्थानमा यथावत रहेको छ ।
प्रभातफेरी तालिकाको ८ औं स्थानमा रहेको छ । यस्तै ढुकु फुटसल हब ७ औं स्थानमा रहेको छ भने लुम्बिनी फुटसल नवौँ स्थानमा रहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-