काठमाडौँ ७ असोज । नेपालले सुदृढ, स्वस्थ र सबल संस्थाहरूको माध्यमबाट मात्रै लोकतन्त्र र स्वतन्त्रताको संरक्षण एवं प्रवद्र्धन हुने यथार्थ औँल्याउँदै देशको संविधानमा नै भेदभाव, असमानतालाई वर्जित गरिएको स्पष्ट गरेको छ ।
संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभाका सन्दर्भमा रोमानियाले अप्रत्यक्षरूपमा आयोजना गरेको लोकतान्त्रिक समुदायको दशौँ मन्त्रीस्तरीय सम्मेलनलाई अग्रिमरूपमा अभिलेख गरिएको भिडियो सम्बोधनमा परराष्ट्र सचिव भरतराज पौड्यालले लैङ्गिक समानता प्रवद्र्धनलाई नेपाल सरकारले उच्च प्राथमिकता दिएको बताए ।
नेपालको सङ्घीय, प्रान्तीय तथा स्थानीय निकायमा ४१ प्रतिशत निर्वाचित पदाधिकारी महिला रहेका जानकारी दिँदै समावेशी, सहभागितामूलक, न्यायपूर्ण लोकतान्त्रिक शासन व्यवस्थामा नै राजनीतिक अतिवाद, आर्थिक कटौती, विपत्ति र कोरोना कोभिड–१९ जस्ता महामारीको डटेर सामना गर्न सकिने बताए ।
उनले लोकतन्त्रका अन्तर्निहित गुण नै विवाद, असहमति, मतभिन्नताको समुचित व्यवस्थापन गर्दै सहनशीलता र सबै नागरिकको सम्मानको प्रवद्र्धन पनि लोकतान्त्रिक समाजमा हुने गरेको उल्लेख गरे । मन्त्रीस्तरीय घोषणापत्र अनुमोदन गर्दै सम्मेलन आजै समापन भएको छ । नेपाल लोकतान्त्रिक समुदायको सदस्य राष्ट्र हो । सो समुदायको अध्यक्षता रोमानियाले गरेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-