काठमाडौं ४ असोज । नेपाल राष्ट्र बैंकले आज सोमबारबाट नयाँ नोट वितरण गर्ने भएको छ । केन्द्रीय बैैंकले एक सूचना जारी गर्दै यसपटकबाट वाणिज्य बैंकहरुका तोकिएका शाखाहरुबाट समेत नयाँ नोट वितरण गरिने भएको हो ।
केन्द्रीय बैंकले कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राखेर उपत्यकाका वाणिज्य बैंंकका तोकिएका शाखा कार्यालयबाट नोट सटही सुविधा लिन सकिने व्यवस्था मिलाइएको जनाएको छ ।
उपत्यकाका बाहिरको हकमा भने प्रदेशस्थित कार्यालयमा वा वाणिज्य बैंकको तोकिएको शाखा कार्यालयमा गएर नोट सटही गर्न अनुरोध गरिएको छ । नेपाल राष्ट्र बैंकले यो वर्षको दशैँमा ३५ अर्ब रुपैयाँ बराबरका नयाँ नोट बजारमा पठाउने भएको छ ।
यो वर्ष राष्ट्र बैंकले करिब ३५ अर्ब रुपैयाँ नयाँ तथा सुकिला नोट वितरण हुने अनुमान गरेको छ । दशैँ र तिहारका अवसरमा हरेक वर्ष औसतमा ५० अर्ब रुपैयाँ बराबर नयाँ नोट राष्ट्र बैंकको ढुकुटीबाट बाहिरिँदै आएको छ । यसमध्ये १२ देखि १५ अर्ब रुपैयाँ सर्वसाधारणको हात हातमा पुग्छ भने बाँकी रकम बैंक तथा वित्तीय संस्थाले बैंकिङ प्रयोजनका लागि उपयोग गर्छन् ।
राष्ट्र बैंकले यसपालि पनि ५० अर्ब बढीकाका नयाँ नोट सटहीका लागि व्यवस्था गरिसकेको छ । प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म सटही सुविधा पाइनेछ । राष्ट्र बैंकले ५, १०, २०, ५० र १ सय रुपैयाँका प्रतिबन्डलसम्म सटही हुने गरी यो सुविधा मिलाएको जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-