पछिल्लो समय अभिनय क्षेत्रमा स्थापित नाम हो प्रकाश घिमिरे । पोखरा महानगरपालिका–३ नदिपुरमा जन्मिएका घिमिरेले अभिनयकै कारण दर्शकको मन जित्न सफल भएका छन् । घिमिरे विगत ३ दशकदेखि कराकारीताको क्षेत्रमा आवद्ध छन् । उनी टेलिश्रृंखला ‘दलन’ हुँदै चलचित्र क्षेत्रमा प्रवेश गरेका हुन् । दलनमार्फत पहिलो क्यामेरा फेश गरेका उनले झन्डै ४० भन्दा बढी चलचित्रमा काम गरिसकेका छन् भने हालसम्म उनले ३० वटा नाटकमा आफ्नो अभिनय देखाइसकेका छन् । यतिमात्र नभई उनले विभिन्न सर्ट फिल्म र म्युजिक भिडियोमा पनि आफुलाई स्थापित गर्दै आएका छन् उनै घिमिरेसँग कोरोना महामारी तथा कलाकारीता क्षेत्रका बारेमा गण्डकी प्रेस सम्वाददाता बिनिता सुनारले गरेको कुराकानी :
निषेधाज्ञको समय छ, यहाँको दैनिकी कसरी वितिरहेको छ ?
निषेधाज्ञ भएपनि भर्खरै एउटा म्युजिक भिडियोको सुटिङ्ग सकेर बसेको छु । अब केहि दिनमा फिल्म छायांकनका लागि भिमाद जाँदैछु । दैनिकीको कुरा गर्दा मेरो दैनिकी निकै सजिलो छ, बिहान ५ बजे उठ्छु । एउटा गाई छ, गोठमा गई दुध दुहुन्छु । ७ बजे घर र्फकन्छु । नास्ता गर्छु त्यसपछि घुम्दै भलामसम्म पुग्छु । त्यहाँमुलको पानि आउछ, त्यहि धाराबाट १०, १५ लिटर जतिपानिलएर घर आउँछु । एकैछिनको आराम पछि व्यायाम गर्न थाल्छु । १०–११ बजेतिर खानाखाएर पुन:गोठतिर जान्छु । गोठको काम गाईलाई घाँस दिने काट्ने त्यहि त हो । लकडाउनले गर्दा अहिले दिनहरु यसरी नै बितिरहेको छ ।
लकडाउनको कारण अन्य क्षेत्र जस्तै चलचित्र क्षेत्र पनि खुम्चिएको अवस्था छ, यसलाई कसरी उकास्न सकिएला ?
यसको विषयमा हामीले भन्दा पनि चलचित्र विकास बोर्डले सोच्नु पर्ने हो । यस्तै समस्याबाट चलचित्र जगत लाई कसरी उत्थान गर्ने भन्ने बारेमा माथिबाटै मनथनहुनु पर्ने हो । तर, खै ! अहिलेसम्म केहि गरेको जस्तो लाग्दैन् । मलाई लाग्छ जहाँ समस्या छ त्यहाँ उपाय निस्कन्छ । पछिल्लो समय वेभ सिरिज जस्ता विभिन्न एपहरु बनेका छन् । जसमार्फत फिल्महरु आउन सक्ने सम्भावना देखिन्छन् । निषेधज्ञा भएपनि सुटिङ्ग रोकिएको अवस्था छैन । फिल्म रिलिज पनि भएका छैनन् । तर लगानी गर्न प्रडुसरहरु उत्तिकै छन्, सुटिङ्ग गर्ने टिमहरुको पनि उत्तिकै छन् । निषेधज्ञामा मात्र मैले प्रकाश, हुक्का, गणपति जस्ता चलचित्रहरुको सुटिङ्ग सकेर बसेको छु । यी जस्तै कयौ चलचित्रहरु फ्लोरमा छन् ।
शिक्षण पेशासँगै कलाकारिता क्षेत्रमा कसरी जोडिनुभयो ?
मैले झण्डै ३३ बर्ष कन्या मा.विमा पढाए । ३ वर्ष जति भयो पढाउन छाडेको । शिक्षण पेशा र कलाकारिता सँगसगै सुरु भएको भन्दापनि फरक पर्दैन । म पहिला हिम सन्देश गृह भन्ने पत्रिका,म्यागजिन, पत्रिका बेच्ने कामगर्थँे । त्यो समयमा हामीले सूर्योदय युवा क्लब गठन गर्र्यौ । जसको म सँस्थापक अध्यक्ष थिए । क्लब गठन गरेपछि के गर्ने ? भन्ने विषयमा छलफल भयो । संस्थाका सदस्यहरुको नेतृत्व विकास गर्न इभेन्टको आयोजना गर्ने निर्णय गर्र्यौ । अनुप बराल पनि हामीसँगै क्लवमा हुनुहुन्थ्यो, उहाँकै प्रस्तावअनुसार हामीले साँझमा नाटक देखाउन सुरु गर्र्यौ । जुन नाटकको मैले निर्देशन गरेको थिए त्यहि दिनदेखि मेरो रंगमञ्चको यात्रा आरम्भ भएको हो । यतिमात्र नभई म खेलकुदमा पनि निकै सक्रिय थिए । अतिरिक्त क्रियाकलापको प्रमुख भएर पनिकाम गरे तर, अभिनय भने छाडिन । मलाई रंगमञ्चमा नै रमाउनु थियो । नाटक गरे पनि फिल्ममा जाने हाम्रो सोच थिएन । पछि ‘दलन’ भन्ने टेलिश्रृखला बाट प्रस्ताव आएपछिनै मैले पहिलो क्यामेरा फेस गरेको हुँ । टिचिङ्ग र अभिनय दुवैलाई समय दिन नसक्ने भएपछि कलाकारितालाई नै निरन्तरता दिने योजना बनाए ।
रंगमञ्च र चलचित्र क्षेत्रमा हजुरको अनुभव कस्तो छ ?
रंगमञ्च आफ्नो सन्तुष्टिको लागि गरिने अभिनय हो । एउटा कलाकार रंगमञ्चमा अभिनय गरेपछि मात्र सन्तुष्टि हुन्छ, जहाँ निरन्तर अभिनय गर्न पाइन्छ । अभिनयको भोक रंगमञ्चले नै मेट्छ । चलचित्र भनेको पछि सम्म बसेर हेर्दा मज्जा लिन सकिन्छ, जसमा आफुले गरेको मेहनत अनुसार पारिश्रमिक पनि आउँछ भन्ने हो । रंगमञ्चमा अभिनय गरेर मात्रै बाच्न गाह्रो छ, तरपनि मैले अझै गर्न पाए भने रंगमञ्च नै रोज्ने मान्छे हुँ ।
राजनीतिमा चाहिँ कत्तिको चासो राख्नुहुन्छ ?
एक जमानामा राजनीतिमा खुबै चासो राख्थँे । पिएन क्याम्पसमा आइ.ए पढ्दै गर्दा स्ववियू निर्वाचनमा नेविसंघको तर्फबाट सदस्यमा उठेको थिए । त्यसपछि वडामा केहि समय कांग्रेसको राजनीतितर्फ लागियो । पछि–पछि राजनितिमा जे हुनुपर्ने थियो त्यो देखिएन् । २०४६ सालको आन्दोलनमा पनि निकै लागियो तर, सबैलाई नियालेर हेर्दा केहि परिवर्तन नै छैन्, त्यसकारण अहिले राजनितिबाट वितृष्णा छ ।
राजनीतिमा देखिएको पछिल्ला व्यवहारलाई कसरी मूल्यांकन गर्नुभएको छ ?
राजनीतिलाई पहिला सेवाको रुपमा हेरिन्थ्यो, अहिले पेशा बनेको छ । क्लबको अध्यक्ष हुँदा मैले पनि भन्ने गर्थेँ, राजनीतिमा जानु छ भने, ४० बर्षसम्म सामाजिक सेवा गर । त्यसपछि पनि सामाज सेवा गर्ने मोह तिमीमा छ भने, तिमी राजनीतिमा जान योग्य हुनेछौ । तर पछिल्ला समयलाई हेर्दा व्यक्तिगत स्वार्थका लागि मान्छे राजनीतिमा आएको जस्तो देखिन्छ । अहिले स्वार्थ पे्ररित राजनीति बनेको छ । बरु पश्चायतकालको अवस्था यस्तो थिएन् । मान्छेहरु सामाजिक कामका लागि राजनीति गरेको देखिन्थ्यो । तर बहुदल आएपछि समाज फराकिलो होला भनेको जिँऊ को तिऊ ।
कलाकारितासँगै राजनीतिमा पनि देख्न सकिने सम्भावना कत्तिको छ ?
अब त छैन् । १२ बर्षदेखि ३० बर्षसम्म धन्न–धन्न सक्रिय राजनीति गरियो । पदका लागि भन्दापनि समाज परिवर्तनका लागि गरियो । क्लव खोलेर क्लव मार्फत मान्छेहरु लाई प्रजातन्त्रबारे बुझाउनका लािग निकै प्रयास गरियो । अहिलेको अवस्था हेर्दा कोरोनाको विगविगी छ । खोप लगाउने ठाउँमा मान्छेको भिडभाड छ । यस्तो पनि सिस्टम हुन्छ ? सिस्टमलाई पूर्णतय तल्लो तहबाट व्यवस्थित बनाउनु पर्ने हो त्यसो भएको देखिदैन । त्यसैले पनि त्यो तर्फ अहिले नै सम्भावना भने छैन ।






















प्रतिक्रिया लेख्नुहोस्:-