पोखरा २२ । महिला सशक्तिकरणका मुद्दामा होस् वा चाहे मुलुकका निम्ति प्रजातन्त्र र लोकतन्त्र सुदृढीकरणका मुद्दामा होस्, जहिल्यै अग्रपक्तिंमा देखिने अनुहारमध्येकी हुन्, कास्कीकी कांग्रेस नेता लक्ष्मी पाण्डे । नेपाली कांग्रेस जिल्ला समिति कास्कीको कोषाध्यक्षको कार्यकाल सफलतापूर्वक हालै मात्र सम्पन्न गरेकी पाण्डे केन्द्रीय राजनीतिमा ‘डेब्यू’ गर्ने आंकाक्षा व्यक्त गरेकी छन् ।
मंसिर २४ देखि २७ सम्म काठमाडौंमा आयोजना हुने नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनमा उनी केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने भएकी हुन् । उनी कास्की क्षेत्र नम्बर २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुन् ।
तीन दशकभन्दा बढी अवचिलित कांग्रेसको राजनीतिमा क्रियाशिल पाण्डे तमाम् महिलाहरु निम्ति प्रेरणाको स्रोत बनेकी छन् । साथै, उनले सम्हाल्ने जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्ने गरेकी छन् । त्यसको पछिल्लो उदाहरण हो कास्की समितिको कोषाध्यक्षको कार्यकाल ।
देशभरीका कांग्रेस जिल्ला समिति कोषाध्यक्षहरुको राष्ट्रिय समितिको महासचिव रहेकी पाण्डेले २०७६ चैतमा एउटा सम्मेलन पोखरामा आयोजना गर्न सफल भएकी थिइन् । ‘महिलालाई नेतृत्व दिएको ठाउँ असफल भएको छैन,’ उनी भन्छिन्, ‘त्यसकै दृष्टान्त कास्कीमा मैले कांग्रेसको कोषाध्यक्ष हुँदा जिम्मेवारी निभाएर प्रमाणित गरेकी छु भन्ने ठानेकी छु र सबै प्रतिनिधिहरुले मलाई हौसला दिनुभएको छ ।’ कोषाध्यक्षहरुको राष्ट्रिय समितिले पनि आफूलाई केन्द्रीय सदस्यमा उभ्याएको पाण्डे सुनाउँछिन् ।
नेपाल विद्यार्थी संघबाट राजनीति थालेकी पाण्डे कास्की कांग्रेसको कोषाध्यक्ष हुनुपूर्व क्षेत्रीय इकाई सभापति भएकी थिइन् । त्यसैगरी उनले जिल्ला महिला संघ कास्कीको पनि नेतृत्व सम्हालेकी थिइन् । नेविसंघको राजनीतिक आन्दोलनका क्रममा र २०६२/०६३ को जनआन्दोलनमा उनी पटकपटक प्रहरी गिरफ्तारीमा परेकी थिइन् । स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा पनि जिल्ला कोषाध्यक्ष हुँदै गर्दा आर्थिक संयोजक भएर कुशलतापूर्वक जिम्मेवारी पाण्डेले सम्पन्न गरिन् ।
लामो समयको निरन्तरता र मुलुकको व्यवस्था परिवर्तनमा योगदान पुर्याएकी पाण्डेले पार्टीलाई सुदृढ र नयाँ पुस्तामाझ आकर्षणीय बनाउन आफूलाई समर्पित गर्ने प्रतिबद्धता जनाएकी छन् । ‘कांग्रेसप्रति यससमय नयाँ पुस्ताको लोभलाग्दो आकर्षण देखिन्छ । तर पार्टीका भातृ संघहरुमा लामोसमयदेखि नेतृत्व हस्तान्तरणका सवालहरु उठेका छन्,’ उनी भन्छिन्, ‘यसलाई सम्बोधन गराउनका लागि पनि आवाज उठाउने ठाउँमा मेरो आवश्यकता सबैले महशुस गरेको बोध मैले गरेकी छु ।’
पार्टीलाई सशक्त र समाजमा चलायमान बनाउन इच्छाशक्ति भएको नेतृत्व आवश्यक हुने हुँदा प्रतिनिधिहरुले सो अनुसारको नेतृत्व चयन गर्नेमा उनी आशावादी छन् । ‘जो व्यक्ति सामाजिक हुँदैन, त्यो राजनैतिक हुन सक्दैन र जो व्यक्ति राजनैतिक हुँदैन त्यो सामाजिक हुन सक्दैन’ भन्ने मान्यता राख्ने पाण्डे दुई कार्यकाल पोखराको नव आदर्श क्लबमा दुई कार्यकाल सचिव भई जिम्मेवारी सम्पन्न गरेकी थिइन् ।
हालसम्म पार्टीका विभिन्न जिम्मेवारीमा रहँदा जस्तै कार्यभार प्रतिनिधिहरुले केन्द्रीय समितिमा पुर्याएर पुन: सुम्पिनेमा उनी विश्वस्त छिन् । ‘अवसर पाएमा प्रमाणित गर्ने ठाउँमा म पुग्ने छु । आशा छ, महाधिवेशन प्रतिनिधिहरुले मलाई केन्द्रीय समितिमा अवसर दिनुहुने छ ।’
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८



























प्रतिक्रिया लेख्नुहोस्:-