चितवन १८, नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले मुलुकमा अझै प्रतिक्रान्तिको खतरा रहेको बताए । मुलुकमा लामो संघर्षबाट प्राप्त उपलब्धिहरुलाई उल्ट्याउन षड्यन्त्र भइरहेको औल्याउँदै त्यसको प्रतिकारका लागि कलमको भूमिका नै महत्वपूर्ण रहनेमा जोड दिए ।
शनिबार चितवनको भरतपुरमा भएको प्रेस सेन्टर नेपालको चौथो महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सम्बोधनका क्रममा सो कुरा बताएका हुन् । एमालेले केही दिन अघि चितवनमा भएको महाधिवेशन लाई कुम्भ मेलाको संज्ञा दिँदै विचार तथा राजनीतिबाट एमाले नांगी सकेको बताए । पञ्चायतकालीन मण्डलेकरण प्रतिगमकारी शक्ति, तत्व र प्रवृत्तिलाई जनताले असफल बनाउने बताए ।
अध्यक्ष प्रचण्डले अहिलेको गठबन्धनको यसरी नै अधि बढ्ने बताए । उनले भने, ‘अहिले पनि गठबन्धन टुटाउन प्रयास भैरहेको छ ।’ तर अहिलेको गठबन्धन सफल हुने उनले दावी गरे ।
‘विगतको सरकारले अघि बढाएको सञ्चार सम्बन्धि कानुन रोक्नको लागि छलफल भएको,उनले भने,‘यसलाई सच्चाएर अघि बढ्ने छ ।’
यस्तै गठबन्धको सहमतीबाट नै प्रधानन्याधीश चोलेन्द्र समशेर राणालाई महाअभियोग लगाउने, र एमसीसीको विषयमा गठबन्धनमा सहमति भएर अघि बढ्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले लोकतन्त्र, प्रेस स्वतन्त्रता र सरकारले लिएका नीतिहरुको बिषयमा प्रेस सेन्टरले स्पष्ट धारणा बनाउनेमा विश्वस्त रहेको बताए । उनले सरकार परिर्वतन भएपनि पत्रकारिता क्षेत्रमा परिवर्तन आउन नसकेको उनको धारणा थियो ।
त्यस्तै प्रेस सेन्टरका संस्थापक नेता ओम शर्माले हरेक संघर्षमा अग्रणी भूमिका खेलेको संगठनले समाजवादको आधार तयार पार्न निखारताका साथ लाग्नु पर्ने धारणा राखे ।
यस्तै समाजवादी प्रेस संगठनका अध्यक्ष शम्भु श्रेष्ठ, अखिल (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंह, अनेमसंघ (क्रान्तिकारी) का अध्यक्ष अमृता थापामगरले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए । प्रेस सेन्टरका संयोजक महेश्वर दाहालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव विष्णु सापकोटा(जुगल)ले गरेका थिए । करिब १ हजारमा सहभागी भएको अधिवेशन आइतबार सम्म चल्ने छ ।



























प्रतिक्रिया लेख्नुहोस्:-