काठमाडौं । फाइनलमा नेपाललाई २–१ ले पराजित गर्दै साफ महिला च्याम्पियनसिप–२०२४ को उपाधि बंगलादेशले जितेको छ । बंगलादेशले लगातार दोस्रोपटक साफको उपाधि जितेको हो ।
बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा बंगलादेशलाई जित दिलाउन मोनिका चक्मा र ऋतु पोर्ना चक्माले गोल गरिन् । नेपालकी अमिशा कार्कीले गोल फर्काए पनि नेपालको हार टार्न सकिनन् । तिनै गोल दोस्रो हाफमा भएको हो ।
खेलको ५२औँ मिनेटमा मोनिका चक्माले गोल गर्दै बंगलादेशलाई अग्रतामा राखेकी थिइन् । कप्तान सविना खातुनले नेपाली रक्षकबाट भएको गल्तीको फाइदा उठाउदै निकालेको बललाई नियन्त्रणमा लिँदै मोनिकाले गोल गरेकी थिइन् ।
तर, नेपालले चार मिनेटमै गोल फर्कायो । नेपालकी अमिशा कार्कीले गोल गर्दै नेपाललाई बराबरीमा फर्काएकी हुन् । प्रीति राईले निकालेको थ्रू बललाई नियन्त्रणमा लिँदै अमिशाले सहजै गोल गरिन् ।
८१औँ मिनेटमा ऋतु पोर्ना चक्माले गोल गर्दै बंगलादेशलाई २–१ को अग्रतामा राखिन् । करिब २५ यार्ड परबाट ऋतुले उत्कृष्ट गोल गरेकी हुन् । यही गोल निर्णायक बन्दा बंगलादेश च्याम्पियन बनेको हो ।
यसअघि सन् २०२२ को संस्करणमा नेपाललाई बंगलादेशले ३–१ ले हराएको थियो ।
नेपाली महिला टिमले हारेको यो १२औँ फाइनल हो । साफमा मात्रै नेपाल फाइनलमा पराजित भएको यो छैटौँपटक हो ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८
प्रतिक्रिया लेख्नुहोस्:-