गण्डकी, १३ भदौ ः नेपाली महिलाहरुको महत्वपूर्ण पर्व हरितालीका तिजमा दर खाने खर्च कटाएर यहाँको एक आमा समुहले सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना गरेको छ ।
तीज पर्व होटल र पाटी प्यालेसमा भोज खाएर नभई शिक्षा क्षेत्रमा लगानी गरि मनाउने लक्षयका साथ पोखरा १७ स्थित ढुङ्गेसाँघु सितापाईला आमा समुहले स्थानीय जानकी माविमा ५१ हजार १ सय ५ रुपैयाको अध्यक्ष कोष स्थापना गरेको हो ।
विद्यालयमा आयोजित एक कार्यक्रमका बिच उक्त रकम बरावरको चेक विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको थियो । सामुहिक रुपमा दर खाने रकम संकलन गरि विद्यालयमा अक्षयकोष स्थापना गरेको समुहकी अध्यक्ष सिता काफ्लेले जानकारी दिइन् ।
“समाजका विपन्न एवम् असहायको शिक्षाको अध्ययन थलो बनेको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सहयोग पुग्ने विश्वास समुहले लिएको छ” उहाँले भन्नुभयो, आवश्यकता अनुसार समुहले सहयोगलाई निरन्तरता दिने छ ।”
यस अघि विद्यालय सञ्चानार्थ वडा सदस्य शिवराम भण्डारीले पाँच लाख रुपैयाको अक्षयकोष स्थापना गरिदिनु भएको थियो । सरकारी एक वर्षको सेवा सुविधा तीन लाख र दुई लाख थप गरि विद्यालयमा पाँच लाख रुपैयाको अक्षयकोष स्थापना गर्नुभएको प्रधानाध्यापक अर्जुन कडेलले जानकारी दिए ।
विद्यालय सञ्चानार्थ एक करोडको अक्षयकोष पु¥याउने लक्ष्यका साथ स्थापना भएको कोषमा हालसम्म विभिन्न संघसंस्था एवम् व्यक्तिबाट लगभग १५ लाख संकलन भएको उहाँको भनाई छ । कार्यक्रममा पोखरा १७ का वडासदस्य शिवराम भण्डारी, विद्यालय व्यवस्थापन समितिका सदस्य हरिप्रसाद बास्तोला, शिक्षक अभिभावक संघका अध्यक्ष विक्रम भण्डारी लगायतको सहभागिता रहेको थियो ।
विद्यालयका शिक्षक तुलसी गिरीका अनुसार सो विद्यालयमा हाल ३ सय ७५ जना विद्यार्थी अध्ययनरत रहेका छन् । पछिल्लो समय निजी विद्यालय छोडेर सामुदायिक विद्यालयमा पठनपाठन गर्ने क्रम बढेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-