उत्तरी गोरखाको धार्चे गाउँपालिका –५ सिङलास्थित रेसेगाउँमा एकै घरका ३ जनासहित पहिरोमा पुरिएर ५ जना बेपत्ताको खोजीकार्य जारी रहेको छ ।
रेसेगाउँमा जीतबहादुर गुरुङको कृषि फार्मनजिक रहेको घरमा पहिरो गएपछि त्यसमा पुरिएर आइतबार बिहान ३ बजे ५ जना बेपत्ता भएका थिए । नेपाली सेना, नेपाल प्रहरी, स्थानीय र जनाप्रतिनिधिसहित जेसिबीको सहायतामा ७ घण्टादेखि बेपत्ताको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार पहिरोमा परी बेपत्ता हुनेहरुमा घरधनी ३७ बर्षीय जीतबहादुर गुरुङ, उनकी श्रीमती ३५ बर्षीया कान्छी मायाँ गुरुङ, जीतबहादुर गुरुङका बुबा ६० बर्षीय सुलाल कान्छा गुरुङ, सोही वडाका ३३ बर्षीय रमेश गुरुङ र ठेगाना नखुलेका ३४ बर्षीय रमेश परियारको खोजी कार्य भइरहेको छ ।
पहिरोमा परी बेपत्ता भएकाहरु जेसिबी प्रयोग गर्दा समेत फेला नपरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । पहिरोमा परी जीतबहादुर गुरुङको कृषि फर्ममा भएका बाख्रा, हाँस बङगुर र घर समेत बगाएको छ ।
पहिरोमा पुरिएर घाइते भएका सोही ठाउँका ३५ बर्षीय दिलिप गुरुङ र फार्ममा कामदारको रुपमा काम गर्दै आउनुभएका खमबहादुर गुरुङलाई उपचारका लागि काठमाडौं पठाइएको गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए ।
प्रतिक्रिया लेख्नुहोस्:-