पर्वतको जलजला गाउँपालिका २, मल्लाजमा भएको एक दम्पतीको हत्यामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) संघिय प्रहरी कार्यालय पोखरा, गण्डकी प्रदेश प्रहरी कार्यालय, र जिल्ला प्रहरी कार्यालय पर्वतको टोलीले कृष्ण विक र दिपक परियारलाई पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । हसिया, दाउरो र गजवारले हिर्काएर हत्या गरिएको अनुसंधानमा खुलेको छ ।
विकलाई पर्वत र परियारलाई पोखरा नयाँबजारबाट पक्राउ गरेको स्रोतले जानकारी दिएको छ । लुटपाट गर्ने उद्देश्यले नै हत्या भएको भएको र उनीहरुले १५ दिन अघि देखी योजना बनाएर हत्या गरेको प्रारम्भीक अनुसंधानमा खुलेको छ ।
उनीहरुले हत्या गरेपछी लुटेको सुन बाग्लुङमा लगेर बेचेको अनुसंधानमा खुल्न आएको छ । उनीहरुले केही नगद पनि लुटेको प्रहरीलाइ बयान दिएका छन् । घटनाको मुख्य योजनाकार कृष्ण विक रहेको प्रहरी स्रोतको दावी छ । विकको घर घटनास्थल भन्दा केही माथी रहेको छ ।
१९ चैतको राति ९ बजेसम्म आफन्तसँग फोनमा कुराकानी गरेर सुतेका ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमती ६७ वर्षीया कमला जिसी भोलिपल्ट मृत भेटिएका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-