दाङ, मकवानपुर, कैलाली, सुर्खेत र मोरङका विभिन्न ठाउँमा गरेर लागूऔषधसहित १२ जना पक्राउ परेकाे प्रहरी प्रधान कार्यालयले जानकारी दिएकाे छ ।
दाङ, घोराही उमहानगरपालिका-१८ रजेनाबाट अवैध लागूऔषध चरेस ५ किलोसहित रुकुमपूर्व पुथागंगा गाउँपालिका-१ बस्ने २८ वर्षीय ललित पुन र ३७ वर्षीय हेमराज पुनलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनीहरूले लागूऔषध चरेसको कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर र जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई कारोबार गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट अवैध लागूऔषध गाँजा करिब ८ किलोसहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाश गाउँपालिका-१ बस्ने १९ वर्षीय नबिन स्याङतान र १९ वर्षीय सुजित स्याङतान रहेका छन् । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-२ ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ४ सय मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राभेट २८ ट्याब्लेटसहित बाजुरा त्रिवेणी नगरपालिका-२ घर भई कैलाली धनगढी उपमहानगरपालिका-१ बस्ने ३० वर्षीय शेखर शाहलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला कार्यालय कैलालीबाट खटिएको प्रहरीले प्रदेश नम्बर ३-०२ प ३३६२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ धुलियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित २ ग्राम ८ सय ९० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३० वर्षीय अमृत दमाईलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय प्रदेश व्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले सोही ठाउँस्थित मोटरसाइकल ग्यारेजमा बसिरहेका उनलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित उनलाई पक्राउ गरेको हो ।
मोरङ, मिक्लाजुङ गाउँपालिका-९ बस्ने ३० वर्षीय सरोज मण्डल र उर्लाबारी नगरपालिका-५ बस्ने २४ वर्षीय रमेश सिंह लिम्बुलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १८ मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । भारतबाट आउँदै गरेको प्र.१-०२-०४० प ६३३९ नम्बरको मोटरसाइकलमा उनीहरू सवार थिए । यसैगरी विराटनगर महानगरपालिका-९ बस्ने ३३ वर्षीय जिबन तामाङ र संखुवासभा खाँदबारी नगरपालिका-७ बस्ने २८ वर्षीय हिरालाल बिश्वकर्मालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४८ मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । भारतबाट आउँदै गरेको प्र.१-०२-०४४ प ९४५ नम्बरको मोटरसाइकलमा उनीहरू सवार थिए । लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीले विराटनगर महानगरपालिका-१६ दरैयामा दुवै मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूलाई उक्त पदार्थसहित फेला पारी शुक्रबार दिउँसो पक्राउ गरेको हो ।
यसैगरी मोरङ, बिराटनगर महानगरपालिका-१६ हुलास चोकबाट नियन्त्रित लागूऔषध एभिल १० एम्पुल, डाइजेपाम १० एम्पुल, फेनारगन १० एम्पुल र लुपिजेसिक १० एम्पुलसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुनसरी इटहरी उपमहानगपालिका-१९ बस्ने ३१ वर्षीय अनिल कार्की र सोही उपमहानगपरालिका-२ बस्ने ३२ वर्षीय सुनिल मगर रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२० प १२६६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया लेख्नुहोस्:-