लमजुङ — लमजुङको सुन्दरबजार नगरपालिका ६, खत्रीठाँटीको एउटा घरमा जुवा खेल्दै गरेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । एकादशीको दिन बिहीबार राति पौने ११ बजे घरधनी सुवास श्रेष्ठसहित जुवाडेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा सबै सुन्दरबजार नगरपालिकाभित्रका र एकजना बेंसीसहर नगरपालिकामा छन् ।
रातको समय हारजितको बाजी राखेर कौडा खेलिरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय भोटेओडार र सुन्दरबजारको प्रहरी टोलीले छापा मारेको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघनाथ चापागाइँले जुवा (कौडा) खेल्दै गरेका ११ जनालाई पक्राउ गरिएको र उनीहरुको साथबाट १६ गोटी कौडा साथै नगद १ लाख २४ हजार २ सय ९५ रुपैयाँ बरामद गरिएको बताए ।
जिल्ला प्रहरी प्रमुख डीएसपी मीनबहादुर घलेले जुवा खेल्नेलाई पक्राउ गरी प्रहरी कार्यालय ल्याएको र उनीहरुको नामथर, ठेगाना रुजु भइरहेको बताए । उनका अनुसार पक्राउ गरिएकाहरुविरुद्ध थप अनुसन्धानको लागि शुक्रबार म्याद थप अनुमति लिइ अनुसन्धान थालिनेछ ।
प्रतिक्रिया लेख्नुहोस्:-