लमजुङमा चाडबाडको समयमा यात्रुलाई हुने समस्या तथा सास्तीलाई कम गर्न ९ स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरेको छ ।
दसैँ, तिहार तथा छठ जस्ता ठुला चाडपर्वहरूमा यात्रुहरूको चाप बढी हुने र चोरी लुटपाट जस्ता घटनाहरू घट्ने सम्भावनालाई मध्येनजर गर्दै चाडबाड लक्षित यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।
बिहीबार देखि सञ्चालनमा आएको सहायता कक्षको एक कार्यक्रमबीच उद्घाटन गरिएको छ ।
बेसीशहरबाट काठमाडौं जाने माइक्रो बसका चालक र बेसीशहरबाट मनाङ जाने बोलेरो जिपको चालकलाई टिका र फूलको गुच्छा दिएर सुरक्षित यात्राको कामना गरिएको छ ।
यात्रु सहायता कक्ष शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले चाडबाडका बेलामा बसपार्कमा धेरै सङ्ख्यामा यात्रुहरू आवतजावत गर्ने, सवारी साधनको चाप बढ्ने, टिकट काउन्टरमा यात्रुको भिडभाड बढ्ने, बढी भाडा लिने जस्ता क्रियाकलाप हुने तथा यात्रु ठगिने कार्यलाई नियन्त्रण गर्न, यात्रुको सामान हराउने, सवारीमा क्षमताभन्दा बढी यात्रु राख्दा दुर्घटनाको जोखिम हुनेलगायतका समस्या कम गराउन र नागरिकको पिरमर्कालाई तत्कालै सुनुवाइ गरी समस्या समाधान गर्नका लागि यात्रु सहायता कक्ष स्थापना गरी सञ्चालन गरिएको उनले बताए ।
यसैक्रममा प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले यस अवस्थामा यात्रुमैत्री वातावरण बनाउन, सुरक्षित यात्रा र सार्वजनिक सवारीलाई नियमन गर्न अधिकांश ठाउँमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरेको बताए ।
दसैँ, तिहार तथा छठपर्वलाई लक्षित गरी लमजुङको बेसीशहर नगरपालिका ९ मनाङेचौतारा, बेसीशहर नगरपालिका ८ शेराचोक, बेसीशहर नगरपालिका ३ रानीकुवा, सुन्दरबजार नगरपालिका ८ भोटेओडार बँगैचा, सुन्दरबजार नगरपालिका ७ पाउँदी, मर्स्याङ्दी गाउँपालिका ३ खुदी, मध्यनेपाल नगरपालिका ६ पाखुरीचोक, मध्यनेपाल नगरपालिका ४ दुइपिप्ले र राइनास नगरपालिका ६ धमिलिकुवामा गरी ९ स्थानमा सहायता कक्ष स्थापना गरि विहिवार देखि सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव निरीक्षक मित्रलाल ढकालले बताए ।
साथै सहायता कक्षको अलवा जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, प्रहरी चौकी र अस्थाइ प्रहरी पोष्टहरु मार्फत पनि नागरिकले सेवा लिन सक्ने उनले बताए ।






























प्रतिक्रिया लेख्नुहोस्:-