पुतलीबजार नगरपालिका ८, बहाकोटमा अवस्थित बहाकोट कोटकालिका मन्दिरको समुद्घाटन गरिएको छ ।
बाइसे राजा पृथ्वी वीर विक्रम शाहाको पालामा स्थापित कोटकालिका मन्दिर जीर्ण बनेसँगै मन्दिरको जीर्णोद्धार सहित पुननिर्माण, सिमेन्टको सट्टा ढलोटको मूर्ति स्थापना र विधिवत् पूजापाठ गरि बुधबार पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले समुद्घाटन गरेका हुन । समुन्द्री सतहदेखि १९०० मीटर उचाईमा रहेको मन्दिरको मौला र शिला बाहेक सम्पूर्ण संरचनाको पुननिर्माण गरिएको हो ।
मन्दिरको समुद्घाटन एवं सहयोगी चन्दादातालाई सम्मान गर्दै नगरप्रमुख रेग्मीले ऐतिहासिक मन्दिरको पुननिर्माण पश्चात मन्दिर आकर्षक बनेकोले बहाकोटमा आन्तरिक एंव बाह्य पर्यटक भित्रिने बताए ।
उनले मन्दिरसम्म सजिलै आउने बाटो निर्माणमा आफूले सक्दो सहयोग गर्ने र संघ प्रदेशसँग समन्वय गर्ने प्रतिवद्धता व्यक्त गरे । प्रमुख रेग्मीले ऐतिहासिक एंव धार्मिक मन्दिर दर्शनका लागि बहाकोट भित्रिने पाहुनालाई रैथानेबालीको परिकार खुवाउन र स्थानीय संस्कृतिको प्रवर्द्धन गर्न होमस्टेका लागि समेत सोंच बनाउँन अनुरोध गरे ।
नुवाकाटे राजाको संरक्षकत्वमै रहको बहाकोटमा घुम्दै मन्दिर क्षेत्रमा पुगेका राजा पृथ्वी वीर विक्रम शाहाले बाहिर बाघ सुतिरहेरेको देखेपछि गेटपाले सिपाहीले बाघलाई तरवारले काट्दा दुईटा कन्या दिदी कुश्मावती र बहिनी कठावति उत्पत्ति भई उनीहरूलाई देवीका रुपमा पूजापाठ गर्न थालिएको कथन रहेको स्थानीय पूजारी उदयराज मरासिनीले बताए ।
मन्दिर निर्माण समितिका अध्यक्ष भरतकुमार रानाले सिपाहीले मन्दिर अगाडी सुतिरहेको बाघलाई तरबारले काटेकाले सो ठाउँको नाम बाघकाट र समयान्तरमा अपभ्रम्स भई यस ठाउँको नाम बहाकोट रहन गएको किंवदन्ती रहेको बताउँदै सुतेकै बाघलाई सिपाहीले काटेकाले बहाकोट कोटकालिकाको मौला समेत सुताइएर राख्ने गरिँदै आएको बताए ।
पुतलीबजार नगरपालिका, गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय लगायत स्थानीय र बाह्य सहयोगी एंव चन्दादाताको एक करोड बढीको लागतमा पुननिर्माण गरिएको मन्दिरका सचिव कमला रानाले जानकारी दिए । मन्दिरमा बडादसैंको महाअष्टमीको रातमा कालरात्रीको बिशेष पूजापाठ हुने साथै बडादसैको नवमी र चैतेदसैंको अष्ठमीमा पञ्चवली सहित विशेष पूजा हुने गर्दछ ।
कोटकालिका सम्झी भाकल गरेमा मनोकांक्षा पुरा हुने जनविश्वासले वरपर लगायत छिमेकी जिल्लाका भक्तजन आउने गरेको मन्दिर निर्माण समितिका अध्यक्ष रानाले बताए । ३ रोपनी ८ आना क्षेत्रफल ओगटेको मन्दिर परिसरमा भ्यू टावर निर्माण, प्याराग्लाइडिङ उडान, बाइसे चौविसे राजाहरुको मौलिकता र संस्कृति झल्कने संग्राहलय निर्माणसँगै गाउँमा होमस्टे निर्माण गरिने आर्थिक समितीका संयोजक इन्द्रबहादुर थापाले जानकारी दिए ।

























प्रतिक्रिया लेख्नुहोस्:-